बाइडेनको धम्कीपछि ब्याक भए पुटिन
काठमाडौं । युक्रेन र रुस विवाद हाल युद्धविरामपछि केही मत्थर भएको छ । तर, यसको अन्त्य हुने संकेत भने देखिँदैन । यद्यपी रुसले भने युक्रेनमाथि हमला गर्ने कुनै योजना नरहेको बताएको छ ।
शुक्रबार दिउँसो रुसी विदेशमन्त्री सर्गेई लावरोवले भने, ‘युक्रेनमाथि हमला गर्ने हाम्रो कुने मनसाय छैन । हामी कुनै किसिमको युद्ध चाहँदैनौं ।’ यद्यपी लावरोवले आफ्नो देशको रक्षाका लागि केही कदम उठाउनुपर्ने अवस्था आए पछि नहट्ने बताएका छन् ।
रावरोवको यो बयान अमेरिकी राष्ट्रपति जो बाइडेनको बिहीबार राति दिइएको चेतावनीपछि आएको हो । जसमा बाइडेनले यदि रुसले युक्रेनमाथि हमला गरेको खण्डमा राष्ट्रपति भ्लादीमिर पुटिनले व्यक्तिगत रुपमै यसको मूल्य चुकाउनुपर्ने धम्की दिएका थिए । व्हाइट हाउसले पुटिनमाथि व्यक्तिगत प्रतिबन्ध लगाउने धम्की पनि दिएको छ ।
अमेरिका र उसको साझेदार नाटो युद्धका लागि पूरै तयारीमा थिए । बाइडेनले स्पष्ट रुपमा रुसले युक्रेनमाथि हमला गरेको खण्डमा त्यसको जवाफ दिने बताएका थिए । यसपछि बेलायतको एन्टी ट्यांक वेपन्स र क्यानडाले आफ्नो एक रेजिमेन्ट युक्रेन पठाएको थियो ।
यदि युक्रेनमाथि हमला भयो भने युरोपका कैयौं देशमा यसको आगो फैलिने रुसले आंकलन गरिसकेका थियो । अमेरिकाले पनि रुसलाई लिखित रुपमा कुन मागमा शान्ति हुनसक्छ भन्ने प्रस्ताव गरेको थियो ।
यसैबीच फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले पनि रुसी राष्ट्रपति पुटिनसँग बिहीबार राति फोन वार्ता गरेका थिए । म्याक्रोले रुस यदि आफ्नो अडानबाट पछि नहटेको खण्डमा विश्वसामू युद्धको खतरा उत्पन्न हुने स्पष्ट बताएका थिए ।
अर्कोतर्फ जर्मनी पनि रुसमाथि लगातार दबाव दिइरहेको छ । युद्ध भएको अवस्थामा जर्मनीले रुससँगको सम्बन्ध बिग्रिने चेतावनी दिएको छ । यसका साथै रुसको घनिष्ट मित्र चीनले पनि युद्धको विकल्प खोज्न रुसलाई दबाव दिइरहेको छ ।
रुस–युक्रेनबीच जारी तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसका २६ डिप्लोम्याट्सलाई देश छोड्ने आदेश दिएका थिए ।
वाशिंटनबाट यो आदेश जारी गर्नुका साथै बाइडेन प्रशासनले युक्रेनलाई नाटोमा आवद्ध नगराउन रुसको माग पनि खारेज गरेका थिए ।
बाइडेनले युक्रेनमाथि हमला भएको स्थितिमा रुसले कडा परिणाम भोग्नुपर्ने चेतावनी दिँदै भनेका थिए, ‘यदि रुसले युक्रेनमाथि हमला गर्यो भने रुसको ग्यास पाइपलाइन रोकिनेछ ।’ एजेन्सी