हार्ने डरले गठबन्धन सरकार जनतामा जान डरायो: शंकर पोखरेल - Himal Post Himal Post
  • १८ पुष २०८१, बिहीबार
  •      Thu Jan 2 2025
Logo

हार्ने डरले गठबन्धन सरकार जनतामा जान डरायो: शंकर पोखरेल



नेपालगञ्ज- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई धकेल्न खोजेको आरोप लगाएका छन्। उनले निर्वाचनलाई टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको आरोप पनि लगाए।

बाँकेको खजुरामा शुक्रबार सामूहिक आवास उद्घाटन गर्दै लुम्बिनी प्रदेशका पुर्वमुख्यमन्त्री समेत रहेका पोखरेलले गठबन्धनको सरकार स्थानीय तहको निर्वाचन गर्न हिचकिचाएको बताए। ‘जनताको बीचमा जान यो गठबन्धन सरकार डराइरहेको छ, सरकार जनताको काम गर्नभन्दा पनि एमालेकाविरुद्ध लागिपरेको छ,’ उनले भने ‘शेरबहादुर देउवा नेतृत्वको सरकारले एक सय दिन सरकार बनाउनमै बितायो।’

महासचिव पोखरेलले मूल्य वृद्धि अहिलेसम्म कै उच्च बिन्दुमा पुगेको र व्यापार घाटा बढ्दो क्रममा रहेको जिकिर गरे। आर्थिक तरलता बढ्दै जाँदा देशमा आर्थिक संकट पर्ने संकेत देखिएपछि बैंकहरु लगानी गर्न नसक्ने अवस्थामा पुगेको उनले बताए।

‘विकास र समृद्धिको नेतृत्व एमालेले मात्र गर्न सक्ने भन्दै महासचिव पोखरेलले देश अगाडि बढाउन बलियो शक्ति निर्माण गर्न जरुरी भएको धारणा राखे । सामाजिक न्यायको पक्षमा एमाले स्थापित भएको पोखरेलको जिकिर छ ।