बिहीबारदेखि उच्च वर्षाको सम्भावना - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

बिहीबारदेखि उच्च वर्षाको सम्भावना



काठमाडौँ- देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडाैँ हल्काफुल्का वर्षाको सम्भावना छ। ‘शनिबार र आइतबार यो न्यूनचापीय प्रणाली अलि बढी सक्रिय हुनसक्ने देखिन्छ र समग्रमा यो मध्यम खालको हुनेछ’, उनले भनिन्। महाशाखाले मंगलबार प्रकाशन गरेको तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा बिहीबारसम्मको मात्र भविष्यवाणी गरेको छ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय हुँदा इरान, अफगानिस्तान र पाकिस्तानमा पानी पर्न थालिसकेको बताए।

हामीकहाँ यो प्रणालीको प्रभाव आउदा कहिलकाहीं थोरै दक्षिणतिर अथवा उत्तरतिर सर्ने हुँदा पूर्वानुमान ठ्याक्कै नमिल्न सक्छ। तर मौसम पूर्वानुमानका अमेरिकी तथा युरोपेली दुवै मोडलले बिहीबारदेखि देशभर मौसम बदली हुने प्रष्ट देखाएका छन,’ उनले भने। उनी यो वर्षालाई ‘माघे झरी’ भन्न सकिने तर्क गर्छन्।