‘मधेस प्रदेश’ नाम राखेपछि जनकपुर तनावग्रस्त
काठमाडौँ- प्रदेश २ को नाम मधेस राखिएको विरोधमा प्रदर्शन जनकपुरधाममा प्रदर्शन भएको छ । २२ जिल्लामा फैलिएको मधेसलाई आठ जिल्लामा सीमित गरेको भन्दै युवाहरूले जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दहन गरेका छन् ।
युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जानकी चोकमा युवाहरूले आठ जिल्लालाई मधेस प्रदेश मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुत्ला जलाएका छन् ।
मधेस आन्दोलनमा आफू पनि अग्रपंक्तिमा रहेको बताउँदै उनले आठ जिल्ला मधेस प्रदेश मान्य नहुने बताए । आठ जिल्लाको पहिचान मिथिला भोजपुरा रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।
यसैबीच, पर्साको वीरगन्जमा प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोकिएकोमा सोमबारदेखि नै युवाहरुले विरोधका कार्यक्रम गर्दै आएका छन् ।
प्रदेशको नाम मधेस कायम भएको खुसियाली मनाउन सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।