यी हुन् देउवा र प्रचण्डले गरेका दुई नयाँ सहमति
काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ बीच नयाँ सहमति भएको छ । सोमबार बिहान भएको भेटवार्तामा उनीहरूबीच नयाँ सहमति भएको बताइएको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको दुई नेताबीचको भेटवार्तामा गठबन्धनलाई चुनावसम्म लैजाने र स्थानीय निर्वाचन बैसाखमै गर्ने सहमति भएको हो । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति तोक्न गरेको आग्रहबारे दुई नेताबीच भएको छलफलमा संवैधानिक व्यवस्थाअनुसार नै तीन तहको निर्वाचन गर्न दुवै नेता सहमत भएका छन् ।
गठबन्धन तोडिन्छ कि भन्ने चर्चाबीच उनीहरूले चुनावसम्मै सहकार्य गर्ने सहमति गरेको बताइएको छ । तीन तहको निर्वाचनका लागि उनीहरुले मंगलबार बिहान उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बोलाउने र समितिको सुझाव अनुसार चुनावको मिति तोक्ने बारेमा समेत छलफल भएको प्रचण्ड निकट स्रोतले बतायो ।
यसअघि माओवादी केन्द्रले स्थानीयसहित तीनै तहको निर्वाचन एकैपटक गर्दा राज्यको सम्पत्ति कम खर्च हुने भन्दै प्रस्ताव अघि बढाएको थियो । तर, उक्त प्रस्तावमा आलोचना बढेपछि संवैधानिक व्यवस्था अनुसार नै निर्वाचन गर्न माओवादी तयार भएको हो ।