भ्रष्टाचारमा मुछिए धुर्मुस-सुन्तली, आवस्यक परे पक्राउ गर्ने तयारी - Himal Post Himal Post
  • ९ पुष २०८१, मंगलवार
  •      Tue Dec 24 2024
Logo

भ्रष्टाचारमा मुछिए धुर्मुस-सुन्तली, आवस्यक परे पक्राउ गर्ने तयारी



काठमाडौं- धुर्मुस–सुन्तली फाउण्डेसनका संचालक तथा कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ भ्रष्टाचार मुद्दामा मुछिएका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार गरेको भन्दै उनीहरूविरुद्ध उजुरी परेको छ ।

चितवनको भरतपुरमा बन्दै गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध उजुरी परेको छ। रंगशाला निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै फाउण्डेसनविरुद्ध इमेलमार्फत् उजुरी प्राप्त भई दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

उजुरीकर्ताले विभिन्न दातृ निकायको सहयोग, विदेशमा रहेका नेपालीहरुको सहयोग तथा सरकारी संयन्त्रको रकम समेतको सहयोगमा बन्दै गरेको रंगशालामा खर्च भए बराबरको काम नभएको र फाउण्डेसनले नै भ्रष्टाचार गरेको भन्दै उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए। अख्तियारका अनुसार उजुरी परेसँगै उक्त उजुरी दर्ता भएको र अब अनुसन्धान सुरु हुने उनले बताए।

त्यतिमात्रै होइन उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार गरेको भेटिए उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिने अख्तियार स्रोतले जनाएको छ । सरकारले गरेको अध्ययनमा भने धुर्मुसले हालसम्म भएको काम र खर्च भएको रकमबारे झुट बोलेको भेटिएको छ । अहिलेसम्म उनीहरूले यसमा भएको खर्च र उठेको रकमबारे हिसाव देखाएका छैनन् ।

धुर्मुस–सुन्तली फाउण्डेसनले बनाउने भनेको रंगशालामा हालसम्म ५४ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको बताइएको छ। रंगशालाको भौतिक प्रगति भने जम्मा १४ प्रतिशत मात्रै रहेको छ। करिब ३ अर्ब लागतमा बनाउने भनिएको रंगशालामा अनुमान गरिए अनुसारको सहयोग प्राप्त नभएको र आफूहरुलाई १७ करोड ऋण लागिसकेको भन्दै धुर्मुस–सुन्तली फाउण्डेसनले स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरलाई आग्रह गरेको थियो।