भोलिसम्म कुरौँ, दुधको दुध पानीको पानी छुट्टिन्छ: मन्त्री आले - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

भोलिसम्म कुरौँ, दुधको दुध पानीको पानी छुट्टिन्छ: मन्त्री आले



काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पशुपति धर्मशालाको निरीक्षणपछि आफैँ सक्ड भएको बताएका छन् ।

बतास अर्गनाइजेनले सञ्चालन गरेको आनन्द होटलको निरीक्षणपछि मन्त्री आलेले भने, ‘धर्मशाला भनेको छ सेभेन स्टार होटल जस्तो रहेछ । यहाँको भाडा पनि उस्तै महँगो रहेछ ।’

निरीक्षणपछि मन्त्री आलेले यसबारे छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउने बताउँदै त्यसपछि आवश्यक निर्णय लिइने बताए । उनले भने, ‘छानबिन प्रतिवेदन आइसकेपछि दूधको दूध पानीको पानी हुन्छ ।’

बतास समूहले पशुपति क्षेत्र विकास कोषसँग मिलेमतो गरेर १९ रोपनी जग्गा र त्यसमा फैलिएको ३४ करोड लागतको ८८ कोठे धर्मशाला होटल भाडामा लिएर सञ्चालन गर्दै आएको छ ।

भारत सरकारको सहयोगमा बनेको ‘नेपाल–भारत मैत्री धर्मशाला’मा अहिले बतास समूहले ‘होटल आनन्द’ चलाइरहेको छ । सो होटलमा बस्नेले खानाबाहेक एउटा कोठाको करीब ७ हजार रुपैयाँसम्म तिर्नुपर्छ ।

पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीहरुलाई खान र बस्न सहज होस् भनेर पाशुपत क्षेत्रको तिलगंगामा धर्मशाला बनाइएको थियो । सो धर्मशालामा महँगो होटल मात्रै नभई बतास फाउन्डेसनको निजी कार्यालय, अधिवक्ताको कार्यालयदेखि बतास समूहकै ‘भिन्टेज’ गाडीको सोरुम समेत राखिएको छ ।

बतास समूहले नारायणहिटी दरबार परिसरमा क्याफे सञ्चालनको तयारी गरिरहेका बेला मन्त्री आलेकै निर्देशनमा रोक लगाईएको थियो । क्याफे सन्चालनका लागि बनाइएका भौतिक संरचना मन्त्री आलेको निर्देशनमा भत्काइएको छ ।