'ओरालो लागेका योगेशलाई आफ्नै फोटोले पनि लखेट्यो' - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

‘ओरालो लागेका योगेशलाई आफ्नै फोटोले पनि लखेट्यो’



काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदा मास्क नलगाएको तस्वीर बाहिरिएपछि नेकपा एमालेका सचिव योगेश भट्टराई थप विवादित बनेका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि दवाव दिन गएका भट्टराई आफैले मास्क नलगाई प्रधानमन्त्रीको अगाडी उभिएको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि संचारमाध्यमसम्म उनी आलोचनाको शिकार बनेका छन् । एकपछि अर्को विवादमा फस्दै गएका योगेश ‘ओराली लागेको मृगलाई बाच्छोले पनि लखेट्छ’ भनेजस्तै भएका छन् ।

खुट्टामा शूज कभर लगाएका उनले मास्क भने लगाएका छैनन् । सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकलविरुद्ध प्रधानमन्त्री कार्यालयमै उनले देखाएको यो हर्कतले जनताले के सिक्ने भन्दै उनीविरुद्ध सर्वसाधारण खनिएका छन् । सबैतिर आलोचनाको शिकार बनेपछि उनले प्रष्टीकरण दिएका छन्।

नेकपा एमालेले आज बिहान कोरोना संक्रमण नियन्त्रणका विषयमा केन्द्रित रहेर सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। उक्त कार्यक्रममा जुत्तामा प्लाष्टिक कभर भएको तर मास्क नलगाएको भट्टराईको एउटा तस्वीर आएपछि सामाजिक सञ्जालमा आलोचना भएको थियो।

सोही तस्वीरको विषयमा भट्टराईले सामाजिक सञ्जालमार्फत नै प्रष्टीकरण दिएका हुन्। उनले आफूले पत्र वाचन गर्नका लागि मास्क खोलेको र हस्तान्तरण गर्ने समयमा लगाउन भुलेको भन्दै आएका टिप्पणीको स्वागत गरेका छन्।

‘ध्यानाकर्षणपत्र वाचनका क्रममा मैले माक्स खोलेको थिएँ। तत्क्षण पत्र हस्तान्तरण गर्नुपर्दा माक्स लगाउन भुलेको बारेमा संचारमाध्यममा आएको टिप्पणीको स्वागत गर्दछु,’ भट्टराईले लेखेका छन्, ‘विषय र घटनाको सार र रुप पक्षलाई छुट्याएर बुझ्न् सबैमा अनुरोध गर्दछु।’

तर उनले दिएको स्पष्टिकरण पनि विवादित बनेको छ । ध्यानाकर्षणपत्र वाचन गर्दा मास्क नखोली वचन गर्नै नमिल्ने भन्ने हुँदैन । मास्क लगाएर पनि ध्यानाकर्षणपत्र वाचन गर्न सकिन्छ ।

भट्टराईले आफूहरुले बालुवाटारमा जाँदा प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारित मापदण्डलाई पूर्ण रुपमा पालना गरेको पनि उल्लेख गरेका छन्।

उनले लेखेका छन्, ‘आज कोभिड– १९ का सम्बन्धमा नेकपा एमालेका तर्फबाट प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण गराउने कार्यक्रममा हाम्रो प्रतिनिधिमण्डलले प्रधानमन्त्रीको सचिवालयद्वारा निर्धारण गरेको स्वास्थ्य मापदन्डलाई पूर्ण पालना गरेको अनुरोध गर्दछु।’