स्वास्थ्यमन्त्री खतिवडामाथि प्रधानमन्त्री देउवाले किन लगाए लगाम ?
काठमाडौं । वीर अस्पताल (कोभिड युनिफाइड अस्पताल)को प्रमुखमा सरुवा भएका डा.गुणराज लोहनीको सरुवा रोकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि सरुवा प्रक्रिया रोकिएको । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरुवा रोक्न निर्देशन दिइसकेका छन् ।
१२औं तहका विशिष्ट श्रेणीका अधिकृतको सरुवा मन्त्रीले प्रधानमन्त्रीसँग नसोधी गरेको भन्दै कांग्रेसका वरिष्ठ नेताहरूले समेत देउवाको ध्यानाकर्षण गराएका थिए ।
दुई दिनअघि मात्रै स्वास्थ्यमन्त्री विरोध खतिवडाले डा. लोहनीलाई वीर अस्पताल पठाउने मन्त्रीस्तरीय निर्णय गरेका थिए । डा. लोहनीलाई निर्देशकको जिम्मेवारी दिइएपछि बुधबार केही कर्मचारीले विरोधसमेत गरेका थिए । उनीहरुले डा. लोहनीलाई अस्पताल छिर्न नदिने बताएका थिए ।
न्याम्स ऐन विपरीत डा. लोहनीलाई वीरमा पठाइएको, १२औं तहको कर्मचारी सरुवा प्रधानमन्त्रीलाई जानकारी नदिई गरिएको र राष्ट्रियसभा निर्वाचनको आचारसंहिता लागेको बेलामा सरुवा रोक्नुपर्ने अवस्था आएको जनाइएको छ ।