उपत्यकाका तीन जिल्लामा स्मार्ट लकडाउन जारी, यस्तो छ प्रशासनको आदेश
काठमाडौँ —उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले उपत्यकाका तीनै जिल्लामा स्मार्ट लकडाउनको शैलीमा विभिन्न कार्यक्रमहरूमा रोक लगाएका छन् ।
तीनै जिल्लाका जिल्ला प्रसाशन कार्यालयले २५ जनाभन्दा बढी मानिस जमघट तथा भेला हुन रोक लगाएका छन् । त्यस्तै राजनीतिक दलका सभा-सम्मेलनसहित भिडभाडजन्य सबै गतिविधि गर्न पनि बन्देज लगाएको छ ।
माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक सेवा लिन खोप कार्डलाई अनिवार्य गरिएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले तीनवटै प्रशासनका प्रमुखहरूको बैठक बसेर कोरोनाको पछिल्लो भेरिएन्ट फैलिन नदिन आवश्यक मापदण्ड जारी गरिएको बताए ।
यस्तै प्रशासनले सार्वजनिक सवारीसाधनहरुमा तोकिएको सिट क्षमताभन्दा बढी यात्रु चढाउन नपाइने पनि निर्णय गरेको छ । साथै, उद्योग व्यवसायहरुमा समेत कार्यरत मजदुरलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिइएको प्रजिअ उपाध्यायले बताए ।
यसअघि सोमबार शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्देशन दिइसकेको छ ।