विप्लवले भने: देउवा भारतीय दलाल हुन्, चुँ बोल्दैनन् - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

विप्लवले भने: देउवा भारतीय दलाल हुन्, चुँ बोल्दैनन्



काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीले नेपालको कालापानी क्षेत्रबारे भारतले सार्वजनिक गरेको धारणाप्रति प्रधानमन्त्री शेरबहादुर देउवा मौन रहेको भन्दै आपत्ति जनाएको छ ।

पार्टीले सोमबार एक विज्ञप्ति सार्वजनिक गर्दै देउवाले भारतको दलाली गरेको बताएका छन् ।

‘भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा,कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस नेतृत्वको सरकार भारतीय रवैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यववादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि शर्मनाक विषय हो ।’

विज्ञप्तिमा नेपाल सरकारलाई कूटनीतिक पहलबाट कालापानी क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न पनि माग गरिएको छ ।

केहीदिन अगाडी भारतको मन्त्रिपरिषदले नेपालको सो ठाउँमा पुल बनाइदिने निर्णय गरेको थियो ।