ओलीको प्रस्ताव र एमालेसँग गठबन्धन गर्नेबारे देउवाले पार्टीमा छलफल गर्ने - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

ओलीको प्रस्ताव र एमालेसँग गठबन्धन गर्नेबारे देउवाले पार्टीमा छलफल गर्ने



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटामाथि महाभियोग लगाउने र चुनावमा गठबन्धन गर्ने प्रस्ताव राखेका छन् ।

उच्चस्तरीय स्रोतले हिमालपोस्टलाई दिएको जानकारीअनुसार आज करीब १ घण्टा भएको भेटघाटमा ओलीले देउवालाई यस्तो प्रस्ताव राखेका हुन् ।

‘एमालेको प्रतिस्पर्धी यो देशमा कांग्रेसबाहेक कोही छैन,’ ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘त्यसैले हामी मिलेर पनि यो देशलाई फाइदा छ, प्रतिस्पर्धा गरेर पनि लोकतान्त्रिक पद्धतिको रक्षा नै हुन्छ । गैरसंवैधानिक काम गरेका सभामुखलाई महाभियोग लगाएर हटाउने र चुनावमा सहकार्य गरेर जाने मेरो प्रस्ताव हो ।’

जवाफमा देउवाले चुनावी सहकार्यको विषय अहिल्यै गर्न ठीक नरहेको तर पार्टीमा चाह्ल्फल गर्नसकिने बताएका थिए । ‘तपाईंको प्रस्तावबारे पार्टीमा छलफल गरौंला तर संसदलाई खोले कुरा मुख्य हो । अहिले संसद खोल्न सहयोग गरेमा चुनावसम्म त धेरै विषयमा सहकार्य गर्न सकिएला’ देउवाले भनेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउन पनि देउवा तयार देखिएनन् । अदालतमा विचाराधीन मुद्दामा सभामुखलाई दोषारोपण गर्न नाकिने देउवाले बताएका थिए । देउवाले आफूहरूले एमालेबाट असल प्रतिपक्षीको भूमीका अपेक्षा गरेको बताएका थिए ।

ओलीको प्रस्तावमा खासै ध्यान नदिएका देउवाको जोड संसदको गतिरोध हटाउनेतर्फ थियो ।

‘लोकतन्त्रमा सत्ता र प्रतिपक्षीको सहकार्य अनिवार्य हुन्छ,’ देउवाले ओलीलाई भने, ‘त्यसैले संसदको गतिरोध हटाउनुपर्यो । अन्य मुद्दामा हामी मिलेर जान सक्छौं ।’
एमालेले सभामुखले राजीनामा नदिएसम्म संसदको अवरोध कायमै राख्ने अड्डी लिएपछि प्रधानमन्त्री देउवा ओलीलाई भेट्न बालकोट गएका थिए ।

भेटघाट सौहार्दपुर्ण रहेको स्रोतको दाबी छ । भेटघाटअघि देउवाले सत्ता गठबन्धनको बैठकबाट अनुमति लिएका थिए ।