निर्मला पन्त प्रकरण: अर्को प्रयास पनि ‘हात्ती आयो हात्ती आयो फुस्स’
धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले थालेको अर्को प्रयास पनि ‘हात्ती आयो हात्ती आयो फुस्स’ भएको छ । निर्मला प्रकरण जोडेर प्रहरीले अनुुसन्धान गरिरहेका एक जना भारतीय नागरिक धरौटीमा छुुटेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अभद्र व्यवहार मुद्दा चलाइएका भारतीय नागरिक अली हुसेनलाई एक हजार रुपैयाँ धरौटीमा रिहा गरेको हो ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले कानूनी प्रावधान बमोजिम उनलाई एक हजार धरौटीमा रिहा गरिएको बताए ।
हुसेनविरुद्ध जिल्ला प्रहरी कार्यालयले प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको भन्दै मुद्दा चलाएको बताउँदै निर्मला प्रकरणसँग सम्बन्धित भए÷नभएको आफूलाई जानकारी नभएको प्रजिअ पाण्डेको भनाई छ ।
तर कञ्चनपुर प्रहरीले उनलाई निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियो । उनको डीएनएसमेत परीक्षणका लागि पठाइएको थियो । प्रहरीले भने उक्त विषयमा आधिकारीक रुपमा बोलेको छैन ।