चर्को आलोचना भएपछि ओलीका प्रियपात्र शेरधनले फिर्ता गरे सरकारी गाडी - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

चर्को आलोचना भएपछि ओलीका प्रियपात्र शेरधनले फिर्ता गरे सरकारी गाडी



विराटनगर- चर्को आलोचना भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रियपात्र तथा प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले सरकारी गाडी फिर्ता गरेका छन् । मुख्यमन्त्री छोडेको लगभग आधा वर्षपछि उनले गाडी फिर्ता गरेका हुन् ।

पटक पटक ताकेता गर्दापनि गाडी फिर्ता नगरेको भन्दै मिडियादेखि सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि उनले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी मन्त्रालयलाई फिर्ता गरेका हुन् ।

उनलाई पटकपटक गाडी फिर्ता गर्न आग्रह गर्दा उनले गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए । उनको चर्को आलोचना हुन थालेपछि एमालेकै नेताहरूले उनलाई गाडी फिर्ता गर्न दवाव दिएका थिए ।

को १ झ ५६५ नम्बरको गाडी पूर्वमुख्यमन्त्री राईले पदबाट हटेको लामो समयसम्म फिर्ता नगरेको भन्दै आलोचना भएको थियो । राईले आर्थिक मामिला तथा योजना मन्त्रालयको को १ झ ५६५ नम्बरको गाडी मुख्यमन्त्रीबाट भदौ १० गते राजीनामा दिए पनि प्रयोग गर्दै आएका थिए ।

प्रदेश सरकारले पूर्वमुख्यमन्त्रीलाई कुनै किसिमको सेवा सुविधा दिने व्यवस्था नगरे पनि राईले हालसम्म गाडी फिर्ता गरेका थिएनन् । तत्कालीन मुख्यमन्त्री राईले २०७७ पुस १२ गते तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेपछि उक्त मन्त्रालयका गाडी लगेर काठमाडौंस्थित मुख्यमन्त्रीको सम्पर्क कार्यालयमा राखेका थिए ।