सबै जिल्लाका सीडीओ र प्रहरी प्रमुखलाई गृहको सर्कुलर: जिल्ला नछाड्नु - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

सबै जिल्लाका सीडीओ र प्रहरी प्रमुखलाई गृहको सर्कुलर: जिल्ला नछाड्नु



काठमाडौं- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्लाका प्रहरी प्रमुखलाई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए । गृहमन्त्रालयमा आज नेपाल निजामती कर्मचारी युनियनको आठौँ विभागीय अधिवेशनको उद्घाटन समारोहमा उनले उक्त कुराको जानकारी दिए ।

उनले गृहमन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौबिसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे । राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव उनले दिए । उनले भने, “नयाँ चुनौती र दायित्व आउन सक्छन्, सामना गर्न कर्मचारी तयार हुनुपर्छ ।”

कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री खाँणले अहिले दुई घण्टा लाग्दै आएको कामलार्ई डेढ घण्टा र छ घण्टा लाग्दै आएको कामलाई पाँच घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुनेतर्फ ध्यानाकर्षण गराए। उनले मन्त्रालय र मातहतका कार्यालयमा कोही पनि हाकिम कर्मचारी नभइ सबै एकै परिवारका सदस्य रहेको पनि बताए ।