बतास समूहले निर्माण गरेका संरचनाहरू भत्काउन सुरू - Himal Post Himal Post
  • १३ माघ २०८१, आईतवार
  •      Sun Jan 26 2025
Logo

बतास समूहले निर्माण गरेका संरचनाहरू भत्काउन सुरू



काठमाडौं- नारायणहिटी संग्रहालय परिसरमा रेष्टुरेन्टको लागि बतास समूहले निर्माण गरेका संरचना भत्काउन लागिएको छ।

सरकारले सो संग्रहालय परिसररमा निर्माणाधीन रेष्टुरेन्टको विषयमा छानबिन गर्न समिति गठन गरेलगत्तै रेष्टुराँ परिसरको पर्खाल भत्काइन लागेको दरबार संग्रहालयमा कार्यरत कर्माचारी दिपेश बज्राचार्यले बताए। उनले भने, ‘रेष्टुराँ परिसरको पर्खाल भत्काउन सुरू गरिएकाे छ।’

बतास समूहलाई १० रोपनी जग्गा भाडामा दिएको विषय विवादमा तानिएसँगै सरकारले हिजो छानबिन समिति बनाएको थियो।

यस्तै बिहीबार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका थिए। उनले भनेका थिए, ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने। पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ। त्यसको संरक्षणको निमित्त चाहे मन्त्रीस्तरबाट होस्। चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौं। नारायणहिटी राजदरवारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ।’

पर्यटनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेकाे छ।