एमाले १६ जिल्लाको अधिवेशन स्थगित - Himal Post Himal Post
  • ४ असार २०८३, बिहीबार
  •      Thu Jun 18 2026
Logo

एमाले १६ जिल्लाको अधिवेशन स्थगित



काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ६१ जिल्लामा अधिवेशन शुरु हुँदैछ। एमालेको १० औँ महाधिवेशन गत मंसीरमै सम्पन्न भए पनि जिल्ला अधिवेशन हुन सकेको थिएन।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय बबरमहलबाट एकैसाथ अधिवेशनको भर्चुअल उद्घाटन गर्दैछन्। बिहान ११ बजे अधिवेशनको उद्घाटन गर्ने कार्यतालिका रहे पनि आन्तरिक तयारी अभावका कारण निर्धारित समयमै अधिवेशन शुरु हुन भने सकेको छैन। जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ।

प्रतिकूल मौसम र आन्तरिक तयारीको कारण १६ जिल्लाको अधिवेशन स्थगित भएको एमाले प्रचारप्रसार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। ती जिल्लामा छिट्टै अधिवेशन गर्ने उनले बताए।

यसैगरी काठमाडौं जिल्ला कमिटीले अध्यक्ष ओलीका उपस्थितिमा मूलपानीस्थित क्रिकेट खेल मैदानमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ। शुक्रबार काठमाडौं मूलपानीस्थित क्रिकेट मैदानमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत बाग्मती प्रदेश छनोट प्रतियोगिताको फाइनल खेल हुने तय थियो। क्रिकेट फाइनल रोकेर रंगशालामा एमालेको अधिवेशन हुने भएपछि फाइनल खेल रोकिएको छ।