रामचन्द्र भन्छन्: सहमति नखोजे मुलुक खतरामा छ - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

रामचन्द्र भन्छन्: सहमति नखोजे मुलुक खतरामा छ



काठमाडौं- सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउन दलहरुबीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै कांग्रेस नेता पौडेलले संसदको अवरोध हटाउन सहमतिको बिन्दुको खोजी गर्नुपर्ने बताए।

उनले समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउन सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिए।

सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने उनले बताए। पौडेलले मुलुकलाई असफल राष्ट्र बनाउन नहुने पनि बताएका छन्।

‘नेपाललाई असफल राष्ट्र बनाउन पाइँदैन। सबै नेताहरुलाई मैले अनुरोध गर्‍या छु । सहमति र सम्झौताको बिन्दु खोजौँ’, उनले भने, ‘कुनै न कुनै सहमतिको बिन्दु खोजौँ। तर यो अदालतको अवरोध, संसदको अवरोध, एमसीसीको अवरोध हटाएर मुलुकलाई अब गति दिनुपर्यो।’

उनले संयन्त्रमा आफूले १५/१६ बुँदे एउटा सुझाव पनि प्रस्तुत गरेको बताए। आफूले राखेको प्रस्तावमा शुक्रबार छलफल हुने पौडेलले बताए।

पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबार बालकोटमा भएको भेटबारे पनि चर्चा गरे। ‘उहाँले अलिअलि दुखेसो, गुनासोहरु गर्नुभएको छ’, पौडेलले ओलीबारे भने, ‘तिनका बाबजुद समाधान त चाहियो। निकास त चाहियो नि जसरी पनि भन्ने मेरो हो।’

संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताए।

आफूले सुझावहरु समेत पेश गरेको भन्दै उनले ती सुझावहरुको विषयमा पनि छलफल गरिने उल्लेख गरेका छन्।