देउवाविरुद्ध सशक्त बन्दै शेखर समूह, आज बृहत् भेला - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

देउवाविरुद्ध सशक्त बन्दै शेखर समूह, आज बृहत् भेला



काठमाडौं। नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षका नेताहरूको आज (बुधबार) बृहत् भेला बस्दै छ । हालै सम्पन्न १४औँ महाधिवेशनमा सभापतिका प्रत्याशी डा. कोइराला पक्षका नेताहरूको अलग छलफल हुन लागेको हो। महाधिवेशनको समीक्षा गर्न भेला डाकिएको छ।

भेलामा कोइराला पक्षका सबै नेतालाई बोलाइएको छ। यसअघि मंगलबार पनि छलफल भएको थियो। मंगलबारको छलफलमा उपसभापति धनराज गुरुङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मीनेन्द्र रिजाल, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतको सहभागिता थियो ।

सभापति शेरबहादुर देउवालाई गुट उपगुटभन्दा माथि उठेर कार्य गर्न सुझाव दिँदै आएका डा. कोइरालाले पार्टीभित्र आफूले ४० प्रतिशत मत ल्याए पनि भागबण्डा नखोज्ने बताएका छन्। देउवाले हालै १३ जना केन्द्रीय सदस्य मनोनीत गर्दा गुटलाई प्रश्रय दिएको आरोप लागेको छ ।

सभापति देउवाले मनोनीतमा कोइराला पक्षका नेतालाई प्राथमिकता दिएका छैनन्। आफ्नो प्यानलबाट पराजित उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई देउवाले केन्द्रीय सदस्य मनोनीत गरे पनि डा. कोइरालाको प्यानलबाट पराजितलाई मनोनीत गरेका छैनन्। यस्तो अवस्थामा इतर पक्षले बुधबार दिउँसो २ बजे छलफल गर्न लागेको हो।