अब प्रचण्ड नभएपनि माओवादी चल्छ: प्रचण्ड
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नभए पनि माओवादी आन्दोलन नसिद्धिने बताएका छन्। आफूलाई कतिपयले प्रचण्ड नै नहुने हो भने यो पार्टी के होला? भनेर सोध्ने गरेको भन्दै उनले त्यो प्रश्न नै गलत भएको बताए।
सोमबारको पहिलो केन्द्रीय समिति बैठकबाट पुनः अध्यक्ष निर्वाचित भएपछि सम्बोधन गर्दै उनले भने, ‘माओवादी एउटा क्रान्तिकारी आन्दोलन हो। क्रान्तिकारी विचार हो। यसले इतिहासमा निकै ठूलो त्याग र बलिदानको आधारभूमि खडा गरेको छ। युगान्तकारी परिवर्तनको आधारशीला खडा गरेको छ। त्यसकारण प्रचण्ड नहुँदैमा या अर्को नहुँदैमा माओवादी आन्दोलन सिद्धिने हुनसक्दैन।’
प्रचण्डले कथंकाल कसैले माओवादी आन्दोलनलाई केही समय कमजोर बनायो भने पनि इतिहासले त्यसलाई खोतलिराख्ने र माओवादी आन्दोलन सदा जीवित रहने बताए।
‘शक्तिका साथ अगाडि आउने छ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु। कसैले के भ्रम नपाले हुन्छ भन्ने विनम्र आग्रह छ भने, माओवादी आन्दोलन प्रचण्डको व्यक्तिगत चिज होइन’, उनले भने।