चीनमा खानाको हाहाकार, लकडाउन गरिएको शहरमा बेहाल
बीबीसी । हाल लकडाउनमा रहेको चीनको जिआन शहरका वासिन्दाले पर्याप्त खाना नभएकाले मद्दतका लागि आवाज उठाइरहेका छन् । उता आधिकारिक निकायहरुले चाहिँ खाद्य आपूर्ति पर्याप्त भएकामै जोड दिइरहेका छन् ।
कोभिड संक्रमण फैलन नदिन भन्दै सरकारले १ करोड ३० लाख बढी मानिसहरु बसोबास गर्ने सो शहरमा लकडाउनको घोषणा गरेको थियो । तर विश्वव्यापी रुपमा जारी हुँदै आएको लकडाउन भन्दा विपरित त्यहाँका स्थानीय वासिन्दालाई चाहिँ खानेकुरा जस्तो अति आवश्यक सामग्री खरिद गर्न समेत बाहिर निस्किन दिइएको छैन ।
सरकारले खाद्य सामग्रीहरु डेलिभरी भइरहेको जनाएको छ तर धेरै वासिन्दाले सामाजिक संजाल मार्फत आफूले कुनै सामग्री प्राप्त नगरेको र संघर्षरत् अवस्थामा रहेको बताइरहेका छन् ।
शून्य–कोभिड रणनीति अपनाउँदै आएको चीनले जिआन शहरमा हाल फैलिएको कोरोना प्रकोप वर्षकै खराब भएको बताएको छ । यसअघिको नियममा प्रत्येक घरबाट एकजनालाई हरेक दुई दिनमा दैनिक उपभोग्य वस्तु या खानेकुरा जान जान अनुमति थियो । तर सोमबारदेखि यसमा पनि कडाइ सुरु गरिएको छ । अहिले वासिन्दाहरुलाई कोभिड परीक्षण गर्न बाहेक अन्य कुनैपनि अवस्थामा घरबाट बाहिर ननिस्कन भनिएको छ ।
विगतमा स्थानीयहरुले सामाजिक संजाल प्लेटफर्म वेइबो मार्फत मद्दतका लागि अपील गरेर खानेकुरा लगायत अन्य आवश्यक वस्तुहरु प्राप्त गरेका थिए । तर यसपटक चाहिँ धेरैले सरकारबाट कुनै सरसामान नपाएको गुनासो गरेका छन् ।
शुक्रबार एक स्थानीयले कमेन्टमा भनेका हुन्, “मैले सुनेको अन्य जिल्लाहरुले विस्तारै सरसामान पाइरहेका छन् रे । तर मैले केही पाएको छैन । मेरो समुदायमा बाहिर निस्कनै मनाही गरिएको छ । मैले चार दिन अगाडि केही सामान अनलाइन अर्डर गरेको थिएँ तर अझै त्यो आइपुग्ने कुनै संकेत छैन । मैले धेरै दिनदेखि कुनै तरकारी पाउन सकेको छैन । ”
उनी जस्तै अर्का व्यक्तिले भने, “यो सबै एकदम अनौठो भइरहेको छ । म बसिरहेको जिल्लाले केही सामान पाएको छैन । यहाँ हामीलाई केबल समुहमा रहन र सँगै अर्डर गर्न मात्र भनिएको छ । यति मात्र नभइ सबै वस्तुहरुको मूल्य पनि एकदम उच्च राखिएको छ । ”
यसै हप्ता लिइएको एउटा भिडियो अनलाइनमा खुब शेयर भइरहेको छ जसमा शिआनका वासिन्दाहरु खाद्य सामग्रीको अभावपछि पुलिसहरुसँग चर्को बहस गरिरहेको देख्न सकिन्छ ।
एक व्यक्तिले निकायसँग गुनासो गर्दै आफ्नो परिवारका लागि सबै खाना सकिसकको बताएका छन् भने अर्की एक महिलाले चाहिँ १३ दिनदेखि घरभित्रै थुनिएको र यसरी वासिन्दाहरुले दैनिक जीवन गुजारा गर्नै नसक्ने अवस्था रहेको भनेकी हुन् । उनका अनुसार तरकारी पाउन उनले पहिले चार घण्टासम्म लाइनमा बसेकी थिइन् तर अब त त्यो पनि विक्री गर्न निषेध गरिएको छ ।
राज्यद्वारा सञ्चालित दैनिक, ग्लोबल टाइम्सका अनुसार केही स्थानहरुमा खानेकुराहरु समुदायसम्म पुगिरहेको छ तर तिनलाई स्थानीयको घरसम्म डेलिभरी गर्न पर्याप्त स्वयमसेवक छैनन् । त्यसैगरी शहरव्यापी रुपमा डेलिभरी गर्ने मानिसको अभाव भएको पनि खबर गरिएको छ । धेरै ड्राइभरहरु आफैँ क्वारेन्टिनमा बस्नुपरेका कारणले पनि यस्तो भइरहेको बताइएको छ ।
विभिन्न निकायहरुले बुधबार आफ्ना कमजोरी स्वीकार गर्दै भनेका हुन्, “स्टाफको कम उपस्थिति र वितरणमा कठिनाइका कारण शहरमा आवश्यक सामग्रीहरु आपूर्ति गर्नमा समस्या भइरहेको छ । ”
तर वाणिज्य मन्त्रीले बिहिबार संचारकर्मीहरुसँग कुरा गर्दै जिआनका वासिन्दासँग आवश्यक उपभोग्य वस्तुको पर्याप्त आपूर्ति रहेको ठहर गरेका हुन् ।
उता राष्ट्रिय संचारमा पनि कामदारहरु हजमत सुट लगाएर अण्डा,मासु, तरकारी जस्ता खाद्य वस्तुहरु प्लास्टिकको ब्यागमा हालिरहेको देखाइएको थियो । वेइबोमा एक व्यक्तिले यसबारे लेख्दै आफूहरुले सरकारबाट निःशुल्क खानेकुरा प्राप्त गरेको र परिवारलाई पुग्ने मात्रामा रहेको बताए ।
जिआनमा डिसेम्बर ९ का दिन १,३०० भन्दा बढी संक्रमित फेला परेका थिए । यस्तोमा चीनले आगामी दिनहरुमा कसरी आफ्नो ‘शून्य कोभिड नीति’ कायम राख्न सक्ला भन्नेमा शंका व्यक्त गरिएको छ । यसका साथै फेब्रुअरीमै त्यहाँ विन्टर ओलम्पिक्स पनि आयोजना गर्ने तयारी भइरहेको छ । चीनले उक्त अन्तर्राष्ट्रिय समारोहका लागि कोभिड सबैभन्दा ठूलो खतरा भएको उल्लेख गरेको छ ।