आरजुले गल्ती गर्छिन, प्रधानमन्त्री देउवा विवादमा पर्छन - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

आरजुले गल्ती गर्छिन, प्रधानमन्त्री देउवा विवादमा पर्छन



काठमाडौं- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले भारत भ्रमण गरेको र प्रोटोकलबिना नेताहरू भेट्दै हिँडेपछि प्रधानमन्त्री देउवा नै आलोचनाको केन्द्रमा परेका छन् । पत्नी आरजुको कारण पटकपटक आलोचनाको शिकार बनेका देउवा यसपटक पनि आलोचित बनेका छन् ।

देउवापत्नी आरजु प्रधानमन्त्रीको भारत भ्रमण हुने भएपछि दिल्लीमा सक्रिय बनेपछि देउवा नै तनावमा परेका छन् । आरजु भारत पुगेर विभिन्न नेताहरूलाई भेट्न थालेपछि पार्टी भित्र र बाहिरबाट निकै आलोचना हुन थालेको छ ।

यस्तैमा नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाका भारत भ्रमणप्रति प्रश्न उठाएका छन् ।

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणा अकस्मात् दिल्ली पुगेकी हुन् । आइतबार काँग्रेस नेतृ राणासँग भारतीय जनता पार्टी (बीजेपी) का महासचिव विजय चौथाइवालेले भेट गरेका छन् ।

रावलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, ‘श्रीमती आरजु राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसँग नयाँ दिल्लीमा वार्ताको समाचार आयो । के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो ?’

प्रधानमन्त्री देउवा पुसको अन्तिम साता भारत भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृह प्रान्त गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन देउवा भारत भ्रमणमा जाँदैछन् । गुजरातबाटै देउवा नयाँ दिल्ली जाने भएका छन् ।

प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनुअघि आरजु राणाको नयाँ दिल्ली भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ ।