एमाले छोडेर 'एस'मा प्रवेश गर्नेको संख्या हजारौं - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

एमाले छोडेर ‘एस’मा प्रवेश गर्नेको संख्या हजारौं



काठमाडौं- नेकपा एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा हजारौं नेता कार्यकर्ता पार्टी प्रवेश गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

आइतवार एक विज्ञप्ति जारी गर्दै खतिवडाले गठन भएको छोटो समयमै विभिन्न पार्टी परित्याग गरी नेकपा एसमा आउनेको संख्या बढिरहेको बताएका हुन् ।
विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आकर्षण बढ्दै गएको छ । गठन भएको छोटो अवधिमै विभिन्न पार्टी परित्याग गरी हाम्रो पार्टीमा संगठित हुने लहर चलेको छ ।’

उनले एमालेबाट विद्रोह गरी वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौला र पाल्पाका पूर्वसांसद तथा पूर्वकेन्द्रीय सल्लाहकार यादवबहादुर रायमाझीसहित सयौँ नेता नेकपा एसमा प्रवेश गरेको बताए ।

त्यस्तै उनले सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य एक, प्रदेश कमिटी सदस्य नौ, जिल्ला कमिटीका सदस्य ३० सहित विभिन्न तहका ३०० सय जना नेता एमाले परित्याग गरी नेकपा एसमा प्रवेश गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पार्टी प्रवेश गर्दै कमरेड निरौलाले महाधिवेशनमा पार्टीका गलत कामकारबाहीमाथि छलफल नभएको र पार्टी सच्चिएर सही मार्गदर्शनका साथ अघि बढ्ने विश्वाससमेत समाप्त भएकाले एमाले परित्याग गरी नेकपा एसमा समाहित भएको बताएका थिए ।

यस्तै, पूर्वसांसद रायमाझीसहित पाल्पाका जिल्ला र गाउँ कमिटीसहित विभिन्न तहका ६७ जना नेताले शनिबार पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरी नेकपा एसमा आवद्ध भएको घोषणा गरेका छन् । कमरेड रायमाझीले नवौँ अधिबेशनबाट पारित नीति, सिद्धान्त विपरित पार्टीलाई दक्षिणपन्थी अवसरवादको भासमा केपी शर्मा ओलीले डुबाउदै लगेको, माक्र्सवाद र लेनिनवादका मुलभूत सिद्धान्त परित्याग गरेको र पार्टी व्यक्तिवादी चिन्तनले ग्रसित अवस्था सिर्जना भएकाले एमाले परित्याग गरेको बताएका छन् ।

केहीदिनअघि नेकपा (जनवादी) पार्टीका महासचिव देवसिंह महता नेतृत्वमा सिंगो पार्टी र त्यसका सवै ४५ जिल्ला कमिटी र सोही संख्यामा जनसंगठनका ११ हजारभन्दा बढी नेता तथा कर्यकर्ता र राष्ट्रिय जागरण परिषद, नेपालका अध्यक्ष साध्यबहादुर भण्डारीको नेतृत्वमा अभियानका सबै सदस्य नेकपा एसमा समाहित भएको उनको विज्ञप्तिमा उल्लेख छ ।