मलमा एक अर्व ५३ लाख भ्रष्टाचार, १२ पदाधिकारीमाथि चल्यो मुद्दा
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहित १२ जनाविरुद्ध एक अर्व ५३ लाख २२ हजार ४ सय छ रुपैयाँ बहत्तर पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा चलाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका कम्पनीबाट कम गुणस्तरको मल खरिद गरी उक्त परिमाणमा भ्रष्टाचार गरेको दाबी आयोग छ । आयोगको अनुसन्धानले कृषि सामाग्री कम्पनी लिमिटेडका कर्मचारीहरु र आपूर्तिकर्तासमेतको मिलेमतोमा विना प्रतिस्पर्धामा मल खरिद भएको थियो ।
आयोगका अनुसार, आयातित मलको नमुना परीक्षण गराउँदा नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण प्रतिवेदनबाट उक्त मल तोकिएको स्पेशिफिकेशन भन्दा कम गुणस्तरको भेटिएको थियो । कम्पनीले तयार गरेको स्पेशिफिकेशन बमोजिम नै गुणस्तर भएको भनी गलत परीक्षण प्रतिवेदन बनाई भन्सार नाका तथा कृषि सामाग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पेश गरे गराएको देखिएको थियो ।
उक्त मल आयातमा ९० प्रतिशत भुक्तानी समेत भइसकेको छ । उक्त भुक्तानी सरकारी रकम हानिनोक्सानी भएको पुष्टी हुन आएका दाबीसहित आरोपितहरुलाई सजायँको मागदाबी आयोगले लिएको हो ।
भुक्तानी दिने निर्णय प्रक्रियामा संलग्न कम्पनीका प्रवन्ध सञ्चालक नेत्रबहादुर भण्डारी, प्रवन्धक विष्णुप्रसाद पोखरेल, सहायक प्रबन्धक दुर्गाप्रसाद पाण्डे, उप–प्रबन्धक पुष्कर दिप बुढालाई अभियुक्त बनाइएको छ ।
गलत प्रतिवेदन तयार गर्ने गराउने कार्यमा संलग्न नेपाल इन्भ्वाइर्मेँन्ट एन्ड साइन्टिफिक सर्भिसका प्रबन्ध निर्देशक सलिल देवकोटा, संस्थाका ल्याव निर्देशक सुनिलबाबु खत्री, सिनियर सर्भेयर महेन्द्रकुमार डागा र प्रयोगशाला तथा परामर्शदाता भोलानाथ चौधरी अभियुक्त बनाइएको छ । कम्पनी र र संस्थाबीच सम्झौता गर्ने मनोज आचार्यलाई अभियुक्त बनाइएको छ ।
कम्पनीको स्वीकृत स्पेशिफिकेशनको गुणस्तर भन्दा कम गुणस्तरको डिएपि मल आपूर्ति गर्ने आपूर्तिकर्ता कम्पनी जोशी बिज हाउस कम्पनीका निर्देशक विनित जोशीलाई डिएपी मल आपूर्ति गरी सोको ९० प्रतिशतले हुन आउने रकम एक अर्व त्रिपन्न लाख वाइस हजार चार सय छ रुपैया वहत्तर पैसाकै अभियोग लगाएको छ ।