किन गइरहेको छ बत्ति ? के भन्छन् कुलमान घिसिङ ?
काठमाडौं- पछिल्लो केही दिनयता काठमाडौं उपत्यकामा विद्युत जाने क्रम बढेको छ ।
निरन्तर वर्षा भएपछि ट्रान्सफर्मरमा समस्या आउँदा विद्युत जाने गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै जानकारी दिए ।
उनका अनुसार शुक्रवारबाट विद्युत जाने समस्या हुँदैन । उनले पानीमा भिजेर भए पनि काम गरिरहेको भन्दै अब विद्युत जाने समस्या नआउने बताएका हुन् ।
यद्यपि समस्या आइहालेमा तत्कालै मर्मत गरिने उनको भनाइ छ ।
चिसो बढेसँगै पछिल्लो समय विद्युत खपत बढिरहँदा कहिलेकाहीँ समस्या आउने गरेको उनको भनाइ छ ।
‘अहिले ओभरलोडिङको समस्या छ, यसका लागि ट्रान्सफर्मर नै बदल्नुपर्ने अवस्था छ, हामी सोहीअनुसार काम गरिरहेका छौँ,’ उनले भने ।
गत बुधवार अनामनगर क्षेत्रमा लामो समय विद्युत गएको थियो । सिंहदरबारभित्रको ट्रान्सफर्मरमा आगलागी भएपछि सो क्षेत्रमा विद्युत प्रभावित भएको घिसिङ बताउँछन् ।
पानीमै भिजेर पनि एक दिन लगाएर ट्रान्सफर्मर बनाएर विद्युत पुन: छाडिएको उनको भनाइ छ ।