महाधिवेशन सकिएको महिना नपुग्दै देउवाले शेखरलाई पेल्ने थाले - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

महाधिवेशन सकिएको महिना नपुग्दै देउवाले शेखरलाई पेल्ने थाले



काठमाडौं- महाधिवेशन सकिएको एक महिना नपुग्दै आफूविरुद्ध सभापतिमा चुनाव लडेका कांग्रेस नेता शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पेल्न सुरू गरेका छन् । सभापति देउवाले नेताहरुको वरीयता तोकेपछि कोइराला पेलिएका छन्।

उनले आफूसँग हारेका डा.शेखर कोइरालालाई २०औँ नम्बर वरीयतामा राखेका छन्। कांग्रेसले १४ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित सबै नेताको वरीयता तोकेर सार्वजनिक गरेको हो।

देउवाले शेखरलाई भन्दा अगाडिको वरीयतामा राप्रपा छाडेर कांग्रेसमा पूर्वसहमहामन्त्री सुनिल थापालाई राखेका छन्। यसअघि सभापतिमा हार्ने उम्मेदवारलाई दोस्रो-तेस्रो वरीयतामा राखिन्थ्यो। तर देउवाले शेखरलाई पेल्ने नीति लिएका हुन्।

यसअघि १०औँ महाधिवेशनमा सभापतिमा हारेका देउवालाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले तेस्रो वरीयता दिएका थिए। कांग्रेस फुटेपछि भएको ११औँ महाधिवेशनमा हारेका देउवालाई त्यसबेला दोस्रो वरीयता दिइएको थियो।

त्यस्तै १२ औँ महाधिवेशनमा सुशील कोइरालासँग हार्दा पनि देउवाले दोस्रो वरीयता पाएका थिए। १३ औँ महाधिवेशनमा सभापति भएका देउवाले आफूसँग हारेका रामचन्द्र पौडेललाई दोस्रो वरीयता दिएका थिए।

शेखर १३ औँ महाधिवेशनमा लोकप्रिय मतसहित विजयी हुँदा पनि उनलाई देउवाले ३६ औँ वरीयता दिएका थिए। चौधौँ महाधिवेशनमा कोइरालाले सभापति पदका लागि ४० प्रतिशत मत ल्याएका थिए। तर देउवाले उनलाई वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीभन्दा पछि पारेका हुन्।