१५ महिनापछि सुरू भयो लाइसेन्स वितरण - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

१५ महिनापछि सुरू भयो लाइसेन्स वितरण



काठमाडौँ- १५ महिनापछि मंगलबारबाट स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) को पुन: छपाई र वितरण थालिएको छ । तीन साताअघि १४ लाख कार्ड आएसँगै प्रिन्ट गरेर यसको वितरण थालिएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले यातायात व्यवस्था विभागमा प्रिन्ट भएको लाइसेन्स सेवाग्राहीलाई दिएर वितरण थालिन् । १५ महिनायता विदेश जानेहरूका लागि आकस्मिक रूपमा मात्रै स्मार्ट लाइसेन्स दिइने गरिएको थियो ।

विभागका महानिर्देशक नमराज घिमिरेले कार्ड आपूर्ति नहुँदा छपाईमा ढिलाइ भएको बताए । उनका अनुसार पुरानो स्मार्ट लाइसेन्स ७ लाख प्रिन्ट हुन बाँकी छ । ‘हामीसँग भएको प्रिन्टरलाई अब पूर्ण क्षमतामा दैनिक तीन सिफ्ट चलाइने छ,’ महानिर्देशक घिमिरेले भने, ‘जसअनुसार दैनिक ७ देखि १० हजार कार्ड प्रिन्ट गर्ने योजना छ ।’

माघ मसान्तसम्म पुरानो बाँकी रहेको कार्ड प्रिन्ट गरेर सक्ने विभागले दावी गरेको छ । मन्त्री यादवले कार्ड प्रिन्ट हुन थालिसकेकाले अब सेवाग्राहीलाई समस्या नहुने बताइन् ।

फ्रेन्च कम्पनी सेल्पले १४ लाख कार्ड आपूर्तिका लागि १४ करोड ८६ लाख रुपैयाँमा ठेक्का लिएको थियो । उक्त कम्पनीले कार्ड आपूर्तिमा ढिलाइ गर्दा लिखित तथा ट्रायल पास भएर बसेका चालकले चिटकै भरमा सवारी चलाइरहेका छन् ।

त्यस्तै इम्बोस्ड नम्बरका लागि पाँच वटा प्रदेशबाट सुरु गर्ने तयारी भइरहेको महानिर्देशक घिमिरेले बताए । उनका अनुसार लुम्बिनी र गण्डकीमा कार्यालय स्थापना गर्ने काम हुँदै छ ।

कर्णाली र सुदूरपश्चिममा पनि तयारी भइरहेको उनको भनाइ छ । अहिले काठमाडौंमा मोटरसाइकल, सार्वजनिक सवारी र निजी सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान हुँदै आएको छ ।