सुध्रियो ओली-प्रचण्डको सम्बन्ध, फेरि पार्टी एकता हुने संकेत
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पुनः एकता हुने संकेत गरेका छन् । तिक्ततापूर्ण सम्बन्ध रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच फेरि दूरी कम भएको पनि देखिएको छ ।
लामो समयपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचमा माओवादीको आठौं राष्ट्रिय महाधिवेशनका सम्बन्धमा आइतबार टेलिफोन वार्ता भएसँगै संवादको ढोका खुलेको देखिएको छ ।
एक अर्काको अस्तित्व नै अस्वीकार गर्ने र अनुहार समेत देख्न नचाहने अवस्थाको तिक्ततापूर्ण अवस्थामा सम्बन्ध पुगेको बेला दुई नेता बीच टेलिफोन वार्ता हुनुले आगामी दिनमा संवादको वातावरण बनेको छ ।
टेलिफोन वार्तापछि महाधिवेशनको उदघाटन सत्रमा बोल्दै प्रचण्डले एमालेसँग भएको एकताबारे पुनः समिक्षा गर्नुपर्ने बताएका छन् । उनले एमालेसँग पार्टी एकता गरेर गल्ती नगरेको एमाले महासचिव शंकर पोखरेलको कुरामा समर्थन जनाए ।
‘हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौं । फेरि एकपटक आत्मसमिक्षा गरौं’, प्रचण्डले एमालेप्रति लक्षित गर्दै प्रश्न गरे, ‘हामी किन दुई ठाउँमा हुन पुग्यौं ?’ पार्टी एकता गर्नुको आफूहरुको उद्देश्य गलत नभएको नेता पोखरेलको भनाईमा प्रचण्डले समर्थन जनाए । प्रचण्डले यसबारेमा एमालेभित्र पनि पुनः समिक्षा गर्न आग्रह गरे ।
त्यस्तै एमाले अध्यक्ष ओलीले आफ्नो अनुपस्थितिमा माओवादी केन्द्रको महाधिवशेनमा सहभागी हुन पाएका एमाले महासचिव शंकर पोखरेलले सम्बोधनको क्रममा एमाले र माओवादी केन्द्रको एकता सही भएको तर जोगाउन नसकेकोमा आफूलाई पछुतो भएको अभिव्यक्ति दिए ।
उनले भने, ‘एउटा बलियो वामपन्थी शक्ति बनाउने उद्देश्यका साथ देशव्यापीरूपमा एउटै घोषणा पत्रमा चुनाव लड्यौँ । जनताले त्यसलाई अनुमोदन गरे । त्यहीँ जनादेशको बलमा दुई पार्टीको एकीकरण गरेर नेकपा गठन ग-यौँ तर, त्यो एकतालाई कायम राख्न सकेनौँ, एकताका लागि इमान्दार प्रयास थिए, ऐतिहासिक आवश्यकता थियो, त्यो एकता जोगाउन नसकेकोमा पछुतो छ ।’
त्यतिमात्रै होइन, पोखरेलले आगामी दिनमा वामपन्थी पार्टीहरूको बीचमा सहकार्य र एकताको सम्भावना रहेको पनि बताए ।
‘राष्ट्रियताको मामिलामा हामी विभाजित हुनुपर्ने कारण छैन । कतै हामी नेपालमा नियन्त्रित अस्थिरताको शिकार त भइरहेका छैनौँ ? राष्ट्रियता र स्वाधीनताको पक्षमा एकजुट हुनुपर्छ । अधिकारको प्रश्नमा मिल्छौँ, अधिकार र समृद्धिको प्रश्नमा मिल्न नसक्ने कारण के हो ?’, पोखरेलले भने ।
अन्तिममा बोलेका माओवादी अध्यक्ष प्रचण्डले महाधिवेशन उदघाटन समारोहमा बोलेका सबै नेताहरुको प्रशंसा गरे ।
उनले राप्रपादेखि क्रान्तिकारी माओवादी नेता सीपी गजुरेलको समेत प्रशंसा गरे । राप्रपा नेतृ कुन्ती शाहीले विचार नमिले पनि राष्ट्रियताको सवालमासँगै रहने भनी बताएको भन्दै प्रचण्डले प्रशंसा गरे ।
प्रचण्डले क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलको अभिब्यक्तिलाई आफूले गम्भीर ढंगले लिएको बताए । ‘यसअघि सीपीजीले तितो कुरा राख्नुहुन्थ्यो । आज उहाँको कुरा पनि गम्भीर ढंगले राख्नुभयो’, प्रचण्डले भने, ‘उहाँ बोलिसकेपछि तपाइँको नोट पनि रैछ, मलाइ दिन सक्नु हुन्छ भनेर मागेको थिएँ, उहाँले दिन्छु भन्नु भएको छ ।’
प्रचण्डले गजुरेलको अभिब्यक्ति ठूलो एतिहासिक सन्दर्भसहितको सकारात्मक सन्देशका रुपमा लिएको बताए ।
प्रचण्डले महाधिवेशनमा तयार गरेको दस्तावेजमा सबैभन्दा बढी आत्मालोचना आफ्नै गरेको पनि बताए ।