उपेन्द्र यादव बोलेपछि भावुक बने माओवादी नेताहरू - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

उपेन्द्र यादव बोलेपछि भावुक बने माओवादी नेताहरू



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले माओवादी केन्द्रका नेताहरूलाई पुरानो याद दिलाएका छन् । माओवादीको महाधिवेशनमा पुगेर जनयुद्धकालमा आफूहरू सँगै लडेको भन्दै उपेन्द्रले पुरानो याद दिलाएका छन् ।

लामो समय भूमिगत बनेर पछि छुट्टै पार्टी बनाएका उपेन्द्रले जनयुद्धका कुरा गर्दा माओवादी कार्यकर्ताले ताली बजाएका थिए भने नेताहरू भावुक बनेका थिए ।

नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उदघाटन समारोहमा बोल्दै उनले माओवादी जनयुद्धको स्मरण गरेका हुन् । यादवले माओवादी जनयुद्धमा आफू सँगै लगेको स्मरण गर्दै माओवादी जनयुद्ध र मधेस आन्दोलन नभएको भए अहिलेको परिवर्तन नहुने बताए ।

यादवले नेपालमा ठूलो राजनीतिक परिवर्तनपछि पनि जनताको परिवर्तन हुन नसकेको बताए । ‘प्रचण्डजी प्रधानमन्त्री हुनुभयो, माधव नेपालजी प्रधानमन्त्री हुनुभयो, अरु पनि कम्युनिस्ट प्रधानमन्त्री हुनभयो,’ यादवले भने, ‘सत्य निरुपण तथा मेलमिलाप आयोग अहिले पनि अलपत्र छ, बेपत्ता परिवारले अहिलेसम्म न्याय पाएका छैनन् ।

उनले मुक्तिका सवालहरु कम्युनिस्ट आनदोलनसँग जोडिएर आए पनि ती सवालहरु अलपत्र परेको गुनासो गरे । उत्पीडित जातजातीहरुको अधिकार, पहिचान, समावेशिताका लागि सम्बोधन गर्न महाधिवेशनले ठोस दिशा दिनुपर्ने उनको सुझाव थियो ।

संघीयता, समावेशीता, धर्मनिरपेक्षता जस्ता उपलब्धीहरु धरापमा पर्ने हुन् कि भन्ने भन्ने आशंका ब्यक्त गर्दै यादवले राजनीतिक दलहरु कताकता अल्मलिएर जाने हो कि भन्ने पनि आशंका ब्यक्त गरे ।

नेता यादवले गठबन्धन सरकारमा रहेका सबै यो कार्यक्रममा रहेको भन्दै अहिलेको सरकारले विगतका गल्तीहरुलाई औंल्याएर मात्र नभई विगतका गल्तीहरुलाई सच्चाएर अघि बढ्न सुझाव दिए ।

उनले जनयुद्धबारे बोल्दैगर्दा कतिपय माओवादी नेताहरू भावुक बनेका थिए । उनले माओवादी जनयुद्ध र मधेस आन्दोलन नभएको भए देशमा परिवर्तन सम्भव नभएको बताउँदै गर्दा नेताहरू मंचमा भावुक बनेका थिए ।