बाबुरामले सबै ठेक्का लिएपछि छक्क परे प्रचण्ड - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

बाबुरामले सबै ठेक्का लिएपछि छक्क परे प्रचण्ड



काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग निकाय, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौतामा थप अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । भोलिदेखि शुरु हुने माओवादीको राष्ट्रिय सम्मेलनमा पनि यसबारे छलफल हुने उनले बताए ।

‘एमसीसीमा आम जनताको चासो प्रकट भएर आइसकेकोले थप छलफल जरुरी छ भनेर गठबन्धनबाट एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की र माओवादीबाट नारायणकाजी श्रेष्ठ रहेको अध्ययन समिति बनाइएको छ,’ उनले भने, ‘यसमा गठबन्धनभित्र पनि र सर्वललीय बैठकमा पनि छलफल हुन जरुरी छ ।’

उनले अध्ययन समितिको पुस १७ गतेको बैठकमा सबै दस्तावेजहरूमा संश्लेषण आउने भन्दै केपी ओली सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको सम्झौता (परियोजना कार्यान्वयन सम्झौता)ले समस्या सिर्जना गरेको बताए । माओवादीको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आयोजित पत्रकार भेटघाटमा प्रचण्डले यस्तो बताएका हुन् ।

मूल सम्झौताको दस्तावेजमै पनि केही अस्पष्ट कुराहरू रहेको भनेर विज्ञहरूले भनिरहेको प्रसङ्ग उल्लेख गर्दै दाहालले गठबन्धन बैठकमा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले भनेजस्तो संसदबाट हाडाङहुडुङ गरेर बहुमतका आधारमा पारित गर्नु गलत हुने बताए ।

‘अस्ति सर्वदलीय बैठकमा बाबुरामजीले यसलाई पारित गर्नुपर्छ । यसको अग्रसरता मैंले लिएको हुँ र यसलाई बहुमतका आधारमा संसदबाट अनुमोदन गर्दा हुन्छ भनेर भन्नुभयो, हामी त बडो अचम्मित भैयो,’ दाहालले भने, ‘उहाँसँग एकै पार्टीमा नभएपनि बीचमा पनि यसबारे त कुराकानी भैरहेको छ नि ! यसलाई संशोधनसहित अनुमोदन गर्नुपर्छ भन्ने नै उहाँको धारणा हुन्थ्यो । अस्तिको सर्वदलीय बैठकमा त उहाँ शेरबहादुरजी (देउवा) भन्दा पनि एक कदम अघि बढेर एमसीसी सम्झौताको प्रक्रिया अघि बढाउने सर्वेसर्वा नै मै हुँ भनेजसरी प्रस्तुत हुनुभयो ।’

दाहालले बाबुराम भट्टराईलाई आफैंले प्रधानमन्त्री बनाएको र एकै पार्टीमा रहेकाले त्यतिबेला बाबुराम भट्टराईले दाबी गरेजस्तो उनको अग्रसरतामा एमसीसी सम्झौताको प्रक्रिया प्रारम्भ नभएको बताए ।

दाहालले प्रमुख प्रतिपक्षी केपी शर्मा ओलीतिर पनि निशाना साँधे । गठबन्धन टुटाउने शर्तमा एमसीसी सम्झौता अनुमोदन गराउन समर्थन गर्ने र कांग्रेसलाई निर्वाचनसम्म एकलौटी सरकार चलाउन दिने भन्ने मान्छे वामपन्थी हुन नसक्ने दाहालले बताए ।

‘हामीले कांग्रेससँग सहकार्य गरेर सरकार बनाउँदा वामपन्थीको सरकार ढालेर कांग्रेससँग मिलेको भन्ने एमालेले अहिलेचाहिं यो के भनेको ? पार्टी विचारबाट चल्नुपर्छ, उद्दण्ड व्यवहारबाट होइन,’ दाहालले भने ।