प्रचण्ड आफैले भने: अमेरिकासँग निरन्तर सम्पर्कमा छु
काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे अमेरिकासँग निरन्तर संवाद भइरहेको बताएका छन् ।
शनिबार आयोजित केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिस्ट मञ्चको शपथग्रहण कार्यक्रममा बोल्दै प्रचण्डले एमसीसीबारे राष्ट्रिय सहमति बनाउन लागिएको र त्यसको लागि समय लाग्ने भएकाले अनावश्यक दबाब नदिन अमेरिकालाई भनिएको बताएका हुन् ।
उनले भने, ‘एमसीसीबारे अमेरिकासँग निरन्तर संवाद भइरहेको छ । राष्ट्रिय सहमति बनाउने प्रयासमा छौं, त्यसको लागि समय लाग्न सक्छ । त्यसकारण कुनै दबाब हुनु हुँदैन भनेको छु ।’ प्रचण्डले अनुदानमा आएको रकम फिर्ता नहोस भन्ने आफ्नो चाहना भएको बताए ।
‘अनुदानमा आएको रकम फिर्ता होस् भन्ने हामी चाहँदैनौँ । विकासको लागि पैसा चाहिएको छ । तर, बीचका केपी ओली र अर्थ मन्त्रालयबाट जे काम भएको छ त्यसले जनमानसमा गम्भीर आशंका उत्पन्न गरेको छ । त्यसलाई निक्र्योल नगरी अगाडि बढ्दा नेपाल र अमेरिकालाई पनि फाइदा हुँदैन’ प्रचण्डले भने ।
त्यसैगरी उनले पाँच दलिय गठबन्धन टुटाउन नेकपा एमालेले अनेक षडयन्त्र गरिरहेको आरोप लगाए । ‘एमाले यो गठबन्धन टुटाउन जे पनि गर्ने भनेर वक्तव्यबाजी गरिरहेको छ । हामी मजबुद एकता बनाउने गरी मिहिनेत गरिरहेका छौँ,’उनले भने ।
एमाले अझैपनि प्रतिगमनतर्फ उन्मुख भएकाले उसले प्रतिनिधिसभामा अवरोध कामय राखेको उनले बताए । ‘सदनमा अहिले ग इजना देखिएको छ, एमाले गुटले दिनदिनै अवरुद्ध गरेको छ । संविधान, सर्वोच्च अदालत र निर्वाचन आयोगले त्यो छुट नदिएपनि प्रतिनिधिसभा काम छैन भन्ने साबित गराउन सदन चल्न दिएको छैन । ’ प्रचण्डले भने ।