सर्वदलीय निष्कर्ष: एमालेले निर्वाचित संसद्लाई बन्धक बनाउन पाइँदैन - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

सर्वदलीय निष्कर्ष: एमालेले निर्वाचित संसद्लाई बन्धक बनाउन पाइँदैन



काठमाडौं- संसद्मा‌ प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूले प्रमुख विपक्षी नेकपा (एमाले)लाई संसको गतिरोध अन्त्यका लागि संवादद्वारा सहमतिमा आउन आह्नान गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी दलका नेताहरूले प्रतिपक्षी एमालेलाई जननिर्वाचित संसद्लाई बन्धक नबनाउन आग्रह गरेका हुन्।

बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीसँग बैठकबारे ब्रिफिङ गर्दै असन्तुष्टि प्रकट गर्ने नाउमा संसद्लाई बन्धक बनाउन नहुने निष्कर्षमा पुगेको जानकारी दिए।

बैठकपछि सञ्चारमन्त्री कार्कीले भने, ‘जननिर्वाचित संस्थालाई यसरी लामो समयसम्म बन्धक बनाउनु उचित होइन, गतिरोधका कारण कतिपय महत्वपूर्ण विधेयक र प्रस्तावहरूसमेत अल्झिएका छन्। संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ । तर, सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन।’

मन्त्री कार्कीले सरकारले प्रतिपक्षले उठाएका विषयमा सहमति खोज्न र संवाद गर्न तयार रहेको बताए। उनले सरकारका तर्फबाट संसद् सञ्चालनका लागि सहयोग गर्न प्रतिपक्षलाई आग्रहसमेत गरे।