सर्वदलीय बैठकअघि देउवाले किन बोलाए गठबन्धनको बैठक ?
प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार अपराह्न २ बजे सत्ता गठबन्धनको बैठक बोलाएका छन् । ४ बजे बस्ने भनिएको सर्वदलीय बैठकअघि नै देउवाले अमेरिकी सहायता परियोजना (एमसीसी) र संसदमा उत्पन्न गतिरोधबारे छलफल गर्न सत्तारूढ गठबन्धनमा रहेका दलका नेताहरूलाई बालुवाटार बोलाएका हुन् ।
बैठकमा एमसीसीबारे सत्तारूढ दलले एउटै धारणा बनाएर अघि बढ्ने विषयमा छलफल हुनेछ । एमसीसीबारे सत्तारूढ गठबन्धनमा रहेका ५ वटै दलहरूको धारणा बाझिएको छ ।
संसदबाट निशर्त एमसीसी पास गर्नुपर्ने पक्षमा कांग्रेस सभापतिसमेत रहेका देउवा रहेका छन् भने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी भने केही संशोधनसहित पास गर्नुपर्ने अडानमा रहेका छन् । त्यस्तै संसदमा एमसीसी टेबुल भए गठबन्धनबाट नै बाहिरिने राष्ट्रिय जनमोर्चाले चेतावनी दिएको छ भने जनता समाजवादी पार्टी मौन छ ।
आज बस्ने गठबन्धनको बैठकमा विगत केही महिनादेखि एमालेले संसद अवरुद्ध गरिरहेको मुद्दामा पनि छलफल हुनेछ । संसदलाई कसरी सुचारु बनाउने भन्ने विषयमा प्रधानमन्त्री देउवाले सत्तारूढ गठबन्धनमा रहेका दलहरूको राय माग्नेछन् ।
गठबन्धनको बैठकपछि सर्वदलीय बैठक बस्ने कार्यसूची रहेको छ । तर नेकपा एमालेले बैठकमा नजाने बताइसकेको छ । एमालेका महासचिव शंकर पोखरेलले आफूले मान्यता नदिएको दलसमेत सहभागी हुने भएकाले बैठकमा उपस्थित नहुने बताएका हुन् ।
पोखरेलले नेकपा एकीकृत समाजवादी अवैधानिक दल भएकाले उसको उपस्थितिमा हुने कार्यक्रम आफूले बहिष्कार गर्ने बताए । बरू कांग्रेससँग छुट्टै छलफल हुन सक्ने उनको धारणा रहेको छ ।
एमाले सहभागी नहुने भएपछि सर्वदलीय बैठक बस्ने या नबस्ने भन्ने टुंगो नलागेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । स्रोतले सूत्रन्यूजसँग भन्यो, ‘बैठक बोलाइएको हो, अहिलेसम्म स्थगित गरिएको छैन । यसको मतलब बैठक बस्दैन भन्ने होइन । तर एमालेको सहभागिता नहुने भएपछि गठबन्धनकै बैठकबाट केही निर्णय होला ।’
आज बस्ने सत्ता गठबन्धनको बैठकमा माओवादीका तर्फबाट प्रचण्ड, नेकपा एसका तर्फबाट माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गा पौडेललगायत सहभागी हुने कार्यक्रम रहेको छ ।