उपसभापति गुरुङले भने: अब गठबन्धन होइन, कांग्रेस एक्लै
काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टीभित्र रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा उनले आफू रुपान्तरण र परिवर्तनको पक्षमा मत मागेर विजयी भएको बताउँदै अब पार्टीभित्र रुपान्तरण अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन् ।
गुरुङले पार्टीभित्र विगतमा भएका कमी कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने बताए । विधि र विधानअनुसार पार्टी चलाउने पक्षमा आफू रहेको उनको भनाइ थियो ।
महाधिवेशनको सन्दर्भमा चुनावी प्यानल बने पनि विजयी भएपछि पार्टी बलियो बनाउने कुरामा सबै लाग्ने उनले बताए । सरकार पनि नयाँ ढङ्गले चल्न आवश्यक रहेको उनको भनाइ छ ।
आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने बताए । ‘हामी विधि, विधान, सिद्धान्त र आदर्शबमोजिम नेपाली कांग्रेसको सङ्गठन हाँक्न चाहन्छौँ,’ उनले भने ।
कांग्रेस व्यक्तिको अनुहार लिएर जाने भन्दा पनि विचार र सिद्धान्त लिएर जनतामाझ जाने उनको भनाइ थियो ।