हारेपछि नैतिक संकटमा शाही, देलान् त मुख्यमन्त्रीबाट राजीनामा
काठमाडौँ- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत हालै सम्पन्न निर्वाचनमा पराजित भएका छन् । पीछडिएको क्षेत्रका लागि सहमामन्त्रीमा उम्मेदवारी दिएका शाही बद्री पाण्डेसँग पराजित भएका हुन् ।
सहमहामन्त्रीमा पराजित भएसंगै उनी नैतिक संकटमा परेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री रहेका उनी हारेपछि पद छाड्ने कि नछाड्ने संकटमा परेका छन् । महामन्त्रीमा हारेलगत्तै रक्षामन्त्री रहेका मिनेन्द्र रिजालले नैतिकताको आधारमा राजीनामा दिएपछि उनीमाथि नैतिक संकट परेको छ ।
उनले पदबाट राजीनामा दिने कि नदिने भन्नेबारे आफूनिकट नेताहरूसँग परामर्श गरिरहेको बताइएको छ । भर्खरै मात्र मुख्यमन्त्री बनेका शाहीले मन्त्रिमण्डललाई समेत पूर्णता दिन सकेका छैनन् ।
पाण्डे शेखर कोइराला पक्षका हुन् भने शाहीले सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवारी दिएका थिए । पूर्वपर्यटन तथा संस्कृति उड्डयनमन्त्रीसमेत रहेका शाही पार्टीमा केन्द्रीय सदस्य थिए ।
शुक्रबार सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले २ हजार ४११ मत ल्याउँदा शाहीले २ हजार १३३ मत मात्र ल्याए । सहमहामन्त्रीका अर्का उम्मेदवार चेतराज बजाल भने ९९ मतमै सीमित भए ।
पार्टी कार्यालय सानेपामा भएको पदाधिकारीको मतगणना अन्तिम चरणमा पुगेको छ । शेरबहादुर देउवाको नेतृत्वमा सत्ता गठबन्धनसँगै कर्णाली प्रदेशमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीको सट्टामा कांग्रेसका जीवनबहादुर शाही कात्तिक दोस्रो साता मुख्यमन्त्री बनेका थिए । यसअघि संघीय सरकारको संस्कृति तथा पर्यटन उड्डययनमन्त्री बनिसकेका शाही पार्टीमा सभापति देउवा निकट नेताको रुपमा चिनिन्छन् ।