शंकर पोखरेलले मागे सभामुख सापकोटाको राजीनामा - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

शंकर पोखरेलले मागे सभामुख सापकोटाको राजीनामा



काठमाडौं- एमाले महासचिव शंकर पोखरेलले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् । केन्द्रीय कमिटीको पछिल्लो बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले सभामुखमाथि नैतिकताको प्रश्न उठाएर राजीनामा मागिएको बताएका छन् ।

पोखरेलले संसदको अवरोध हटाउन आफूहरुसँग जम्मा दुई वटा विकल्प रहेको पनि उल्लेख गरे । पोखरेलले भने, ‘कि सभामुख अग्निप्रसाद सापकोटाले निर्णय सच्याउनु पर्छ नभए नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ ।’

ती दुवै विकल्प पूरा नभए आफ्नो पार्टीले संसदको अवरोध जारी राख्ने पोखरेलले चेतावनी दिएका छन् । ‘हाम्रो ध्यान अहिले संसदमा छ,’ पोखरेलले थप्नुभयो, ‘हामीले कारबाही गरेका मान्छेलाई सभामुखले सूचना निकाल्नु भएन । अदालतले अहिलेसम्म यो मुद्दामा फैसला दिएको छैन । यो कुराको टुंगो नलागेसम्म संसद अवरोध जारी रहन्छ ।’

नेकपा एमालेले पार्टीका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसहित प्रतिनिधिसभाका १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेको थियो । उक्त कारबाहीको सूचना प्रकाशित नगरेको भन्दै सभामुखमाथि आक्रामक देखिएको एमालेले लगातार संसद अवरुद्ध गरिरहेको छ ।

एमालेले सांसदहरुमाथि गरेको कारबाहीको प्रक्रिया पूरा नभएको र त्यसअगावै नेपालसहितका १४ जना सांसदले अलगै पार्टी गठन गरेकाले सूचना टाँस्न नपर्ने सभामुखको दाबी रहँदै आएको छ ।