एमाले अराजक समूह बन्यो, त्यसको काम भ्रम फैलाउने मात्र हो: झलनाथ - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

एमाले अराजक समूह बन्यो, त्यसको काम भ्रम फैलाउने मात्र हो: झलनाथ



नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेले भ्रम फैलाइरहेको बताएका छन्।

पार्टी निकट बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले केही अराजक समूहले देश र जनताप्रति गैर–जिम्मेवार भएर निरन्तर जनप्रतिनिधिमूलक थलोमा बाधा पुर्याइरहेको चर्चा गर्दै एमालेले पुनः बहुमत ल्याउने भ्रम फैलाइरहेको बताएका हुन्।

पछिल्लो निर्वाचनमा जनताले कम्युनिष्ट पार्टीलाई विश्वास गरी करिब दुई तिहाइ बहुमत दिएको भए पनि तत्कालीन एमालेको नेतृत्व भष्मासुरको हातमा परेर ऐतिहासिक अवसर गुमेको विचार व्यक्त गर्दै दुई तिहाइ बहुमत हुँदा पनि एमालेले त्यसलाई सम्हाल्न नसकेको बताए।

उनले आम जनताको आवाज उठाउनुका साथै नीति निर्माण गर्ने थलो संसद् भएकाले त्यसलाई अवरोध गर्न नहुनेमा समेत जोड दिए।

बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि मजदुर, किसान, देशभक्त र समाजवादी चिन्तन बोकेका वर्गलाई एकताबद्ध गरी अगाडि बढेको उल्लेख गर्दै उनले बहुसङ्ख्यक जनतालाई न्यायोचितरूपमा वितरणका अवसर उपलब्ध गराउने व्यवस्था नै समाजवाद भएको बताए।

काठमाडौँ कमिटी इन्चार्ज वसन्त मानन्धरले पार्टीका नीति तथा कार्यक्रमलाई प्रसार सामग्रीका माध्यमबाट प्रत्येक जनताको घरमा पुर्याउने प्रतिबद्धता जनाए। ऊर्जा तथा सिँचाइसमेतमन्त्री रहेका मानन्धरले सञ्चारमैत्री कार्यक्रम बनाएर राजनीतिक अभियान सञ्चालन गरी प्रचार क्षेत्रलाई प्रभावकारीकारी परिचालन गरिने बताए।