जनार्दन शर्माले बताए माओवादी बर्बाद हुनुका यस्ता कारण - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

जनार्दन शर्माले बताए माओवादी बर्बाद हुनुका यस्ता कारण



काठमाडौं। अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी तहसनहस हुनुको कारण बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै शर्माले यस्तो बताएका हुन् ।

उनले माओवादी बर्बाद हुनुको पछाडी विभिन्न कारण रहेको र ति मध्ये केहि अहिले सच्चाउन सकिने बताएका थिए । शर्माले कार्यक्रममा पार्टी टुटफुट, विभाजन र कमजोर हुनुका पछाडी केहि गल्ति आफूहरूले पनि गरेको बताए ।

अर्थमन्त्री शर्माले पार्टीले तत्कालीन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती भएको बताएका हुन्।

प्रचण्डपथभित्र सबै वर्ग, जाति, लिङ्ग र समुदायको भावनाको संश्लेषण रहनुका साथै सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषण रहेको उनको भनाइ थियो। यसलाई केही पनि होइन जस्तोगरी फ्याक्दा अहिलेको अवस्थामा पार्टीमा निराशा पैदा भएको उनले बताए।

अर्थमन्त्री शर्माले माओवादीले आफ्नो नेतृत्वमा भएको परिवर्तनको स्वामित्व लिन नसकेको उल्लेख गरे। माओवादीले विद्रोह वा चुनावको सम्बन्धमा पनि दोधारे कुरा गरेका कारण पार्टी वैचारिक रुपमा अस्पष्ट भएको उनले बताए। उनले पार्टी नेतृत्वलाई दिएको प्राधिकार खोस्नाले पार्टी टुटफुट, विभाजन र कमजोर भएको जिकिर गरे।

‘‘प्रचण्डपथलाई विकशित गरेर जानुपर्ने आवश्यकतालाई छाडेर हामीले त्यसलाई हाप दियौँ, मानौँ त्यो केहीपनि थिएन”, उनले भने, ‘‘त्योभित्र बलिदानीको संश्लेषण, सबै वर्ग, जाति, लिङ्ग, समुदायको भावनाको संश्लेषण, हजारौँ घाइते योद्धाहरूको त्याग र विरताको संश्लेषण, सामाजिक अन्तरविरोधहरुलाई समाधान गर्ने वैचारिक संश्लेषणलाई केही पनि होइन जस्तो गरेर फ्याकिदियौँ। पार्टी केन्द्रीय समितिले गम्भिर गल्ती गर्‍यो।”

प्रचण्डपथलाई संश्लेषण गरेर जानुको सट्टा फ्याक्नाले आज निराशा पैदा भएको पार्टीमा फुट र विभाजन भएको उनको भनाइ थियो। यही कारण नेतृत्वले प्राप्त गरेको प्राधिकार कमजोर भई कमजोर भएको उनले बताए।