मत गन्दागन्दै जब धनराजले गडबड भएको देखे... - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

मत गन्दागन्दै जब धनराजले गडबड भएको देखे…



काठमाडौं । नेपाली कांग्रेसको उपसभातिमा शेरबहादुर देउवा समूहका पूर्णबहादुर खड्का र शेखर कोइराला समूहका धनराज गुरुङ विजयी भएका छन् ।

झिनो मतले गुरुङले देउवा समूहका विजयकुमार गच्छदारलाई पराजित गरेका हुन् । उनले दुई मतले मात्रै गच्छदारलाई उछिनेका छन् ।

मतगणनाको सुरुवातमा अग्रता कायम गरेपछि बुधबार राति गुरुङ सानेपा पुगेका थिए । मतगणनाकै क्रममा गुरुङलाई अन्तिमतिर गच्छदारले पछि पारे ।

मतगणना क्रममा केही गडबडी भएको थाहा नपाएको भए आफू पछि परिसकेको गुरुङको प्रतिक्रिया थियो ।

“मैले अन्तिम बण्डलतिर मतगणना भइरहेको बेला पछिबाट हेरेको थिएँ,” गुरुङले भने, “पाचौँमा क्रस गर्नुपर्ने बेलामा उहाँ (प्रतिनिधि)ले छैटौँमा लगाउनुभयो । धर्का तान्नुपर्नेमा मैले हर्दाहेर्दै धर्का तानिएन । अनि मैले गडबड भयो भनेर भनेँ ।”

उनले त्यही दुई मतले नै आफू विजयी भएको प्रतिक्रिया दिए ।

“मैले प्रश्न उठाएपछि उहाँले गल्ती गरेको रहेछु भन्नुभयो । सयको टोटलमा गल्ती देखिएपछि मैले यस्तो कुरा उठाएको थिएँ,” उनले भने, “सयमा ४१ भन्नुभएको थियो तर त्यो पोकामा ४३ मत थियो । त्यही दुई मतले नै म विजयी भएको हुँ । यसलाई नियोजित नभनौँ, मानवीय त्रुटी भनौँ । प्रतिष्पर्धात्मक भयो । अग्रज नेतासँग प्रतिष्पर्धा गर्दैगर्दा दुई मतले मैले विजयी प्राप्त गरेको छु । अग्रजप्रति सम्मान रहनेछ । अत्यन्तै टफ भयो । यसले रुपान्तरणको प्रक्रिया सुरु गर्छ भन्ने मलाई लागेको छ । महामन्त्रीको पनि मिश्रित आउँछ भन्ने मलाई लागेको छ ।”

सानेपा नआएको भए हार्नुहुन्थ्यो ? भन्ने प्रश्नको उत्तर दिँदै उनले भने– मेरो प्रतिनिधिले पनि हेर्नुभएको थियो । तर म आउँदा त्यो भेटाएँ । पहिले पनि विजय दाइको ३४ भन्नुभएको थियो पछि ३३ रहेछ । त्यसकारण म बस्न बाध्य भएँ ।”