देउवाले भने: एकले अर्कालाई सम्मान गरौँ
काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसको सभापति पदका उमेदवार शेरबहादुर देउवाले केही महाधिवेशन प्रतिनिधिको व्यवहारले आफूलाई दुःख लागेको बताएका छन् ।
आज बिहान वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएपछि कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेता–कार्यकर्ता अनुशासित हुनुपर्नेमा जोड दिए ।
“तपाईंहरूको व्यवहारले मलाई दुःख लागेको छ । कांग्रेस अनुशाासित हुनुपर्छ । भोलि तपाईंले पार्टी बनाउने हो । देश बनाउने हो,” देउवाले भने, “जित–हार आफ्नो ठाउँमा होला । तर, नेताको रेस्पेक्ट गर्न सक्नु भएन भने कसरी बनाउनुहुन्छ पार्टी ? कसरी बनाउनुहुन्छ देश ?”
लौनचौरस्थित एक पार्टी प्यालेसमा पौडेलले महाधिवेशन प्रतिनिधिका लागि आयोजना गरेको चियापानमा देउवाविरुद्ध नाराबाजी भएको हो ।
देउवा चियापनस्थलमा प्रवेश गर्नेबित्तिकै नाराबाजी गरिएको थियो । पौडेलले देउवालाई मञ्चसम्म पुर्याएका थिए । देउवा मञ्चमा पुग्दा पनि नाराबाजी जारी थियो । तर, सभापतिका उमेदवार कोइराला कार्यक्रमस्थलमा प्रवेश गरेपछि भने नाराबाजी रोकियो ।
महाधिवेशन प्रतिनिधिहरूले पौडेलविरुद्ध पनि नाराबाजी गरेका थिए ।