सकिनै लाग्यो मतदान: सभापतिको छिनोफानो आजै हुने - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सकिनै लाग्यो मतदान: सभापतिको छिनोफानो आजै हुने



काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतदान अन्तिम चरणमा पुगेको बताइएको छ । मतदान सकिएलगत्तै सभापतिको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय निर्वाचन समितिले मतदानको समय राति ९ बजेसम्म तोकेको छ । सोमवार बिहान ८ बजेदेखि शुरू हुने भनिए पनि साढे ११ बजेपछि मात्रै मतदान शुरू भएको थियो । मतदान सकिएलगत्तै सभापति पदको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।

महाधिवेशनस्थल भृकुटीमण्डप र राष्ट्रिय सभागृहमा मतदान हुँदैछ । महाधिवेशनमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री तथा केही खुला र केही समावेशी केन्द्रीय सदस्यको लागि मतदान हुँदैछ ।

सभापतिका लागि प्रधानमन्त्री शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी छन् । देउवा प्यानलबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल प्रतिस्पर्धामा छन् ।

शेखर प्यानलबाट उपसभापतिमा डा. चन्द्र भण्डारी र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र डा. मीनेन्द्र रिजाल प्रतिस्पर्धामा छन् । प्रकाशमान सिंह प्यानलबाट उपसभापति सुजाता कोइराला र महामन्त्रीमा विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका छन् ।

सभापतिमा पहिलो चरणमा कसैले स्पष्ट बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी ल्याउन नसके दोस्रो चरणमा निर्वाचन गर्ने कांग्रेस विधानको व्यवस्था छ ।

मंसिर २४ गते शुरु भएको कांग्रेसको चौधौं महाधिवेशन नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदैछ ।