प्रचण्डको स्पष्टिकरण: शेयर बजारका साना लगानीकर्ताको हितमा छौं - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

प्रचण्डको स्पष्टिकरण: शेयर बजारका साना लगानीकर्ताको हितमा छौं



काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उनले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका थिए। शेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि अध्यक्ष प्रचण्डले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको दोहोर्‍याएका छन्।

अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले भने, ‘अध्यक्ष प्रचण्डले मन्तव्यका क्रममा राखेको सैद्धान्तिक विषय एकदम सही छ।’ उनले अहिलेको नेपाली पूँजी-शेयर बजारमा लगानीकर्ताको लगानी संरक्षण गर्न, त्यसमा अझ बढी साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताए।

स्वकीय सचिव मल्लले साना लगानीकर्ताको हित र उनीहरूको लगानीको सुरक्षाका लागि पार्टीले सचेत पहल र प्रयत्न गर्ने पनि स्पष्ट पारे।

उनले कोही पनि भ्रमित हुनुपर्ने र यस विषयलाई अनावश्यक राजनीतिक मुद्दा बनाउनुको कुनै तुक नभएको उल्लेख गरे।