कांग्रेसमा ट्वीस्ट: रामचन्द्र पौडेल देउवातिर - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

कांग्रेसमा ट्वीस्ट: रामचन्द्र पौडेल देउवातिर



काठमाडौं- नेपाली कांग्रेसको राजनितिमा ट्वीस्ट देखिएको छ । पार्टी नेतृत्वको प्रतिस्पर्धाबाटै बाहिरिएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जारी १४औं महाधिवेशनअन्तर्गत आज (सोमबार) हुने चुनावमा सभापति पदका उम्मेदवार शेरबहादुर देउवालाई समर्थन गरेकाे दाबी गरिएको छ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले वरिष्ठ नेता पौडेल र महामन्त्री शशांक कोइरालाले पार्टी सभापतिको निर्वाचनमा देउवालाई समर्थन गर्ने सहमति भएको दाबी गरेका हुन्।

वरिष्ठ नेता पौडेल भेट्न प्रधानमन्त्री देउवा आइतबार बिहान पौडेल निवास (बोहोराटार) पुगेका थिए। त्यस क्रममा पौडेलले आफ्नो पूरा समर्थन देउवालाई रहेको बताएको बालुवाटार स्रोतको दाबी छ।

आफ्नो (संस्थापन इतर) समूहले आफूलाई सभापति पदको सर्वसम्मत उम्मेदवार नबनाएपछि पौडेल जारी महाधिवेशनको प्रतिस्पर्धाबाटै अलग भएका हुन्। तर उनले आफ्नो समर्थन देउवालाई दिएको बताएका हुन्।

बुबाले पार्टी सभापतिमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्नुभएको छ’, पौडेलका छोरा चिन्तनकाे भनाइ उद्धृत गर्दै देउवाका प्रेस संयोजक परियारले भने।

त्यस्तै महामन्त्रीसमेत रहेका बीपी पुत्र शशांकले पनि पार्टी सभापतिमा अनुभवी र परिपक्व व्यक्ति आवश्यक रहेको भन्दै आफ्नो समर्थन देउवामा रहेको जनाएको परियारको दाबी छ।

देउवा भेट्न शशांक आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) पुगेका थिए। शशांक देउवाकै प्यानलबाट खुलातर्फ केन्द्रीय सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा छन्।

वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको समर्थन पाउँदा देउवा झण्डै ३ हजार मतले अगाडि हुनेछन्। नेपाली कांग्रेसको चुनावमा ४ हजार ७ सय ३० मतदाता सहभागी हुँदै छन्। मतदान अहिले बिहान ८ बजे काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ।