सभापति नबन्ने रामचन्द्रको घोषणा - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

सभापति नबन्ने रामचन्द्रको घोषणा



काठमाडौं–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई सत्ताभर्‍याङको रुपमा सीमित बनाइएको आरोप लगाएका छन्।

महाधिवेशनबाट नेतृत्वको प्रतिस्पर्धाबाट अलग रहने निर्णय गरेपछि विज्ञप्ति जारी गर्दै पौडेलले पार्टी संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा रमाइरहेको टिप्पणी गरेका हुन्।

‘पार्टी सत्ताभर्‍याङमा सीमित नहोस् भनेर यसका संस्थापक नेताहरु बीपी, गणेशमान र किसुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडा बोध भइरहेको छ,’ उनले भनेका छन्।

चौधौं महाधिवेशनसम्म आइपुग्दा आफूले अनेक प्रपन्च भोगेको उल्लेख गर्दै उनले प्रजातन्त्रका मूल्य, मान्यता र आदर्श अंगालेर अथक प्रयत्न गरिरहँदा पनि पार्टी महाधिवेशनको मझधारमा आएर प्रतिस्पधाृको मैदान छाड्नुपर्ने अवस्थामा आफू पुगेको उनले बताएका छन्।

तथापि एक इमान्दार र लोकतन्त्रवादी नेपालीको हैसियतमा पार्टी र राष्ट्रमा देखिएका विकृति र गलत प्रवृत्तिविरुद्ध भने लडिनै रहने उनको भनाइ छ।

उनले पार्टीको महाधिवेशन केवल व्यक्तिको छनोट गर्नेमात्र थलो नभएको र यसले पार्टीलाई स्पष्ट नीति, योजना र एकताको सन्देश दिनु आवश्यक भएको उल्लेख गर्दै यो दिशामा आफ्नो ध्यान लगाउन र सुदृढ, सबल र एकताबद्ध पार्टी निर्माणमा जुट्न कार्यकर्ता र महाधिवेशन प्रतिनिधिहरुलाई आग्रह गरेका छन्।