रामचन्द्रले विज्ञप्ति निकालेरै सन्यास लिन लागेपछि निवासमै पुगे नेताहरू
काठमाडौं । राजनीतिबाटै सन्यास लिने घोषणा गर्न लागेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन नेताहरू निवासमै पुगेका छन् ।
सभापति बन्ने चाहना राखेका पौडेलले आफ्नै समूहमा सहमति नभएपछि वक्तव्य जारी गरेर राजनीतिबाटै सन्यास लिने र महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने तयारी गरेपछि अहिले संस्थापनइतरका नेताहरु पौडेल निवास बोहोराटार पुगेका हुन् ।
विभिन्न नेताहरूले आग्रह गर्दापनि नमानेपछि नेता पौडेललाई फकाउन उनी निकटका नेताहरू निवासमा पुगेको बताइएको छ । स्रोतका अनुसार पौडेलले विज्ञप्ति जारी गर्ने तयारी गरिसकेका थिए ।
केहिदिन अगाडी आफ्नो समूहमा सहमति नभए आफूले राजनीतिबाटै सन्यास लिने बताएका पौडेलले यस्तो तयारी गरेको बताइएको छ । विज्ञप्ति जारी गर्ने उनको तयारी रोक्न नेताहरूले पौडेललाई अहिले फकईरहेका छन् ।
पौडेल नआउने जानकारी पाएपछि उमेदवार विमलेन्द्र निधिले पनि पौडेललाई टेलिफोन गरेर त्यस्तो निर्णय नलिन आग्रह गरेका छन् ।