सभापतिको दौडबाट ‘ब्याक’ भए निधि: ल्याए नयाँ प्रस्ताव
काठमाडौं- आफै सभापतिमा उठ्ने घोषणा गरेका नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले शेरबहादुर देउवालाई सभापति बन्न नदिन नयन तुरूप फ्याँकेका छन् । उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत रूपमा पार्टी सभापति बनाउन प्रस्ताव गरेका छन् ।
उनले आफू सभापतिको दाबेदारीबाट ब्याक हुने संकेत गर्दै यस्तो प्रस्ताव गरेका हुन् । दुवै समूहबाट नेताहरू एकपछि अर्को गरी लड्ने भएपछि उनी उम्मेदवारी छोड्ने मनस्थितिमा पुगेको बताइएको छ ।
पार्टीको १४ औं राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन शुक्रवार राजधानीमा कार्यकर्तालाई सम्बोधन गर्दै निधिले शेरबहादुर देउवाको समेत समर्थनमा पौडेल सभापति बन्ने अवस्थामा आफू पछाडि हट्न तयार रहेको बताएका हुन् ।
वरिष्ठ नेता पौडेललाई सभापति बनाउँदा वृहत् एकताको सन्देश जाने उनको भनाइ थियो । सर्वसम्मत सभापति चुनिने अवस्थामा बाहेक आफ्नो उम्मेदवारी कायम रहने निधिको भनाइ थियो ।
१३ औं महाधिवेशनमा शेरबहादुर देउवालाई दह्रो साथ दिएका निधि अहिले देउवासँग विद्रोह गर्दै आफैं उम्मेदवार बन्ने लाइनमा छन् ।