गगनको फण्डा: पार्टीको चुनावमा ओलीमाथि काउन्टर
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशमा महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरेका गगन थापाले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । बिहीबार प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमका बीच उनले आफ्नो अवधारणापत्र सार्वजनिक गरेका हुन् ।
आफ्नो पार्टीको महाधिवेशनमा गगनले एमालेका अध्यक्षले अगाडी सारेको अवधारणालाई काउन्टर गर्न खोजेका छन् । सुन्दा ओलीकै जस्तो सुनिने नारा लिएर उनी मैदानमा आएका छन् । तर, कार्यक्रममै उनले आफ्नो नाराको अवधारणा फरक भएको पनि बताएका थिए ।
थापाले ‘समुन्नत नेपालः सम्मानित नेपाली’ को संकल्प पूरा गर्न सक्ने पार्टी बनाउन नेपाली कांग्रेसको पुनर्जागरण र रुपान्तरणको लागि आफ्नो अवधारणापत्र सार्वजनिक गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई काउन्टर दिएका हुन् ।
अवधारणापत्र सार्वजनिक गर्दै उनले भने, ‘एउटा पार्टी र नेताको मुखबाट सुन्नुभएको छ ? समृद्ध नेपाल, सुखी नेपाली । त्यो र समुन्नत नेपाल र सम्मानित नेपालीमा आधारभूत फरक छ । समृद्ध नेपाल नेपालमा एअरपोर्टको संख्या बढ्यो भने, चुच्चे रेल दुईतिरबाट आयो भने, पानीजहाज हुइँकियो भने, धरहराबाट हेर्न पाइयो भने हुन्छ । तर, समृद्धिभित्र रेल छ, चढ्ने मान्छेको अत्तोपत्तो छैन । भ्युटावर छ, तर तलका मान्छे त्यसबाट देखिदैन । पाँच वर्षपछि देश समुन्नततर्फ कति गयो ? त्यो नाप्ने स्केल हुन्छ । वंश, जात र लिंगको आधारमा प्राप्त गर्ने विशेषअधिकार आज भन्दा भोलि घट्दै गयो भने हामी समुन्नतितर्फ गयौं भन्छौं ।’