नेपालमा पनि दुई जनामा भेटियो ओमिक्रोन भेरियन्ट - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

नेपालमा पनि दुई जनामा भेटियो ओमिक्रोन भेरियन्ट



नेपालमा पनि कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २ जनामा ओमिक्रोनको संक्रमण देखिएको जानकारी दिएको छ।

पहिलो पटक बोत्स्वाना र दक्षिण अफ्रिकामा नोभेम्बर चौथो साता पत्ता लागेको ओमिक्रोनले संसारभरका वैज्ञानिक र जनस्वास्थ्य अधिकारीहरूको ध्यान खिचेको छ।

ओमिक्रोनको फैलिने दर निकै बढी भएकाले यसले संक्रमण धेरै बढ्ने र अहिलेका खोपहरूले काम गर्दैनन् कि भन्ने चिन्ता छ। विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ र यसले विश्वभरि नै जोखिम हुन सक्ने भन्दै चेतावनी दिएको छ। अहिलेसम्म अन्टार्टिकाबाहेक सबै महादेशमा ओमिक्रोनका संक्रमित भेटिइसकेका छन्।

छिमेकी भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेका छन्।

इन्डियन एक्प्रेसका अनुसार आइतबार राजस्थानको राजधानी जयपुरमा ९ जना संक्रमित भेटिएका छन् भने महाराष्ट्रको पुने जिल्लामा सात जना संक्रमित थपिएका छन्। उनीहरूमध्ये तीन जना केही दिनअघि अफ्रिकी मुलुक नाइजेरियाबाट फर्किएका थिए।

भारतको राजधानी नयाँदिल्लीमा पनि आइतबार एक जनामा ओमिक्रोनको संक्रमण देखिएको छ। योसँगै भारतमा २१ जनामा ओमिक्रोनको संक्रमण भेटिएको छ।

सुरूमा कर्नाटका राज्यमा ओमिक्रोनका संक्रमित भेटिएका थिए अहिले अरू राज्य पनि संक्रमण बढेको छ।