पूर्वमाओवादी नेताहरूलाई एमालेमा भव्य स्वागत - Himal Post Himal Post
  • २३ पुष २०८१, मंगलवार
  •      Tue Jan 7 2025
Logo

पूर्वमाओवादी नेताहरूलाई एमालेमा भव्य स्वागत



काठमाडौँ । नेकपा विवादपछि पुष्पकमल दाहाल नेतृत्वको समूहलाई छाडेर एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरु आफूहरुले रोजेको पदमा निर्वाचित हुन सफल भएका छन् ।

उनीहरूलाई एमालेका प्रतिनिधिले भारी मत दिएर भव्य स्वागत गरेका छन् । एमालेहरूले पूर्वमाओवादीहरूलाई भोट दिन्छन कि दिंदैनन भन्ने अन्योल बढेका बेला उनीहरूलाई एमालेमा भव्य स्वागत गरिएको छ ।

२०७७ फागुन २३ गते नेकपा खारेजीमा परेपछि २०७५ जेठ २ अघिको अवस्थामा दुवै दल ब्यूँतिएका थिए। त्यसपछि एमालेमै बसेका नेताहरूलाई महाधिवेशनमा अध्यक्ष ओलीले राम्रो स्थान दिएर स्वागत गरेका छन् । अफ्ठ्यारो समयमा साथ् दिएका पूर्वमाओवादी नेताहरूलाई ओलीले एक हिसावले गुण तिरेका छन् ।

सौराहामा चलिरहेको नेकपा एमालेको दश औं महाधिवेशनमा उपाध्यक्षमा रामबहादुर थापा बादल राम्रो मत ल्याएर निर्वाचित भएका छन् । त्यस्तै एमाले सचिवमा लेखराज भट्ट र टोपबहादुर रायमाझीलाई पनि एमालेजनाले माया गरेर निर्वाचित गराएका छन् ।

उनीहरुले चुनावमा हारेको भए उनीहरुको राजनीतिक जीवनमा थोरै ब्रेक लाग्ने चर्चा भइरहेको बेला एमालेमा भव्य स्थान पाएका छन् । उनीहरुले उम्मेदवारी दिएको पदमा उनीहरुको बर्चस्व रहन पुग्यो ।

एमालेमै रहेर उपाध्यक्षमा उम्मेदवारी दिएका लोकप्रिय नेता घनश्याम भूसालले भने हार व्यहोर्नुपर्यो । यसले एमाले कार्यकर्ताहरुको क्रेज एमालेमा रहेका नेतामा भन्दा पनि पूर्वमाओवादी नेताहरुप्रति बढी रहेको देख्न सकिन्छ ।