बैठक बोलाएर कहाँ गए अध्यक्ष ओली ?
काठमाडौं- आकांक्षी धेरै भएपछि सहमति गर्न चितवनको सौराहामा बोलाइएको एमालेको बैठक अझै सुरू हुन सकेको छैन । साँझ ८ बजे बस्ने भनिएको नेकपा एमालेको हाल कायम रहेको केन्द्रीय समितिको अन्तिम बैठक ११ बज्न लाग्दा पनि सुरु हुन सकेको छैन ।
केन्द्रीय सदस्यहरू समयमा नआएको कारण ढिला भएको बैठक अहिले भने पार्टी अध्यक्ष केपी शर्मा ओली नआएका कारण रोकिएको छ ।
यसअघि ट्राफिक जामका कारण नेताहरू आउन ढिला भएपछि बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन ।
अहिले अधिकांश केन्द्रीय सदस्यहरू बैठक स्थल आइपुगे पनि पार्टी अध्यक्ष केपी ओली भने आइपुगेका छैनन् । सबैजना पार्टी अध्यक्षको पर्खाइमा यताउता टहलिँदै बसिरहेका छन् ।
ओली कहाँ र किन गएका हुन् भन्नेबारे नेताहरूले केहि बताएका छैनन् ।